अरबपतिले धनी हुन सिकाउने


रसियाका अत्यन्तै धनी व्यक्तिले धनी कसरी बन्ने भन्ने सिकाउने भएका छन् । यसका लागि उनले एउटा म्यागेजिन र टेलिभिजनसमेत खोल्ने बताएका छन् । यसका लागि उनले १५० मिलियन डलर खर्चने भएका छन् । पत्रिका र टेलिभिजनको नाम "स्नब" हुने बताइएको छ ।
शब्दकोषअनुसार स्नबको अर्थ अंग्रेजीमा आफूलाई प्रतिष्ठित ठान्ने र अरुलाई होचो देख्ने प्रवृत्तिलाई जनाउँछ । तर यता यस पत्रिका र टेलिभिजनका सञ्चालक रसियाका यी धनाढ्य मिखाइल प्रोखोरोभले चाहिँ भनेका छन्- "यो टेलिभिजन र पत्रिका ती व्यक्तिलाई हुनेछ जो धनी छन् वा जो धनी हुन चाहन्छन् ।"
४२ वर्षीय मिखाइल अझै अविवाहित छन् र सन् १९९० को दशकमा सोभियत संघको पतनसँगै यिनले कम मूल्यमा अत्यन्तै बढी मूल्यको सरकारी कारखाना हात पारेका थिए । जसमध्ये एउटा पोलियस गोल्ड नामक सुनको खानी रहेको छ भने अर्को चाहिँ निकेलको खानी रहेको छ । यो खानी संसारकै सबैभन्दा ठूलो खानीका रुपमा चिनिन्छ भने उनको सुन खानी रसियाकै सबैभन्दा ठूलो खानी हो । उनी संसारभरका धनीमध्ये २४ औँ स्थानमा पर्छन् ।
रसियाली भाषाअनुसार स्नबको अर्थ "आफैँ बनेको व्यक्ति" भनी बुझिन्छ ।
केही वर्षगरिवीको गर्तमा भाषिएको रुस पछिल्लो समय व्यवसाय र ऊर्जाको कारण धनी हुँदै आएको छ । र, धनसँगै यहाँ पैसाको खोलो बगाउनेहरुको बढोत्तरी हुँदै आएको छ ।
त्यसो त रुसका २० प्रतिशत जनसंख्या अझै पनि गरिवीको रेखामुनि रहेका छन् तर आफ्नो यस किसिमको म्यागेजिन र टेलिभिजन च्यानलले ती २० प्रतिशत गरीव जनतालाई पनि आफू कसरी धनी हुने भन्ने विषयमा सिकाउने उनले बताएका छन् ।
यी अरबपति गएको वर्षचर्चामा आएका थिए, जब फ्रान्सेली प्रहरीले उनलाई वेश्यागमनको आरोपमा एउटा रिसोर्टबाट पक्राउ गरी थुनामा राखेको थियो । पछि प्रहरीले उनलाई बिना कुनै अभियोग रिहा गरिदिएको थियो । यस म्यागेजिनसँगै वेबसाइट पनि सँगै चल्ने उनले बताएका छन् र यी सबै आउँदो गर्मी महिना जुन/जुलाईबाट जनतासमक्ष आउने उनले बताएका छन् ।

Comments