बुढ्यौलीको जोस

माइनस सय डिग्री चिसो र अक्सिजन नभएको ४० किलोमिटरको उचाइबाट ध्वनिभन्दा द्रुत गतिमा हामफाल्दै छन् ६४ वर्षे माइकल


फ्रान्स आर्मीका एक रिटायर्ड प्यारासुटर माइकल फोर्नियर ६४ वर्षको उमेरमा पनि पहिलेजस्तै साहसी छन् । उनी ४० किलोमिटरको उचाइ अर्थात् पृथ्वीको वायुमण्डलको किनारबाट हामफालेर नयाँ कीर्तिमान राख्ने तयारी गर्दै छन् । यो अभियान सफल भएमा विश्वका चारवटा कीर्तिमान भंग हुनेछन् ।विश्वास नै गर्न नसकिने यो 'जम्प' उनले क्यानडाको आकाशबाट आगामी मे २५ मा गर्दै छन् । यस अभियानलाई उनले आफ्नो २० वर्ष पुरानो सपना बताएका छन् । उनले हामफाल्ने विन्दुबाट पृथ्वीको गोलाइ र अन्तरिक्षको अन्धकार प्रस्ट देख्न सकिन्छ ।उनले सुरुमा 'जिरो ग्रयाभिटी' क्षेत्रको सामना गर्नेछन् । जहाँ हावा हुनेछैन । उनले हामफाल्दा सुरुमा अन्तरिक्षमा जस्तो आफ्नो तौल शून्यमा झरेको महसुस गर्नेछन् । ४० किलोमिटरको उचाइसम्म पुग्नलाई उनले एक सय ६१ मिटर लामो हेलियम बेलुनको सहारा लिनेछन् । बेलुनको फेदमा उनी बस्नलाई एउटा विशेष डिब्बा जडान गरिनेछ । वायुचाप सन्तुलित गरिएको उक्त डिब्बाको नाम 'बिल्ली बिसप' राखिएको छ र यो साढे तीन घन्टाको यात्रापछि ४० किलोमिटरको उचाइमा पुग्नेछ । उनले फ्रि-फल प्यारासुटको गति, उचाइ, मानवसहितको बेलुन उडानको उचाइ र फ्रि-फलको अवधिमा नयाँ विश्व-कीर्तिमान कायम गर्नेछन् । उनले हामफाल्दा उनको गति १५ सय किलोमिटर प्रतिघन्टा अर्थात् ध्वनिको भन्दा एक दशमलव तीन गुणा बढी हुनेछ ।यसप्रकारको जम्पमा उनको यो तेस्रो प्रयास हो । सन् १९८८ मा गरिएको पहिलो प्रयास प्राविधिक कारणले गर्दा असफल भएको थियो भने सन् २००३ मा हेलियम बेलुनको खराबीले उनको उडान नै रोकिएको थियो । यसपालि उनले प्रयोग गर्न लागेको बेलुन नयाँ प्रविधिको छ । तर, मानवसहित परीक्षण भने भइसकेको छैन ।बाहिरी चिसोबाट जोगिन माइकलले कार्बन फाइबरद्वारा निर्मित विशेष पहिरन लगाउँदै छन् । ३५ हजार डलर तिरिएको उक्त पहिरनले हावाको घर्षणबाट ताप सिर्जना गरी माइकललाई न्यानो रहन सहयोग गर्नेछ । उनले शिर र कानको सुरक्षाका लागि विशेष हेल्मेट र इयरप्याड लगाउनेछन् ।उनले हामफालेपछिको ६ मिनेटपछि मात्र प्यारासुट खोल्नेछन् । त्यसपछि साढे आठ मिनेटको प्यारासुट यात्रापछि उनी क्यानडाको सेस्काचेवनस्थित मैदानमा ओर्लिनेछन् । उनको यस अभियानलाई नासाले समेत विशेष चासो लिएको छ । यसअघि सन् १९६० मा एक अमेरिकी वायुसैनिकले ३२ किलोमिटरको उचाइबाट हामफालेका थिए ।

Comments