राजाको सम्पत्तीमा सुराकी

काठमाडौं। दुई सय अठ्तीस वर्षको पारिवारिक विरासतसहित नारायणहिटी छाड्नुपर्ने दिन नजिकिँदै आउँदा पनि राजा ज्ञानेन्द्रमा कुनै निराशा एवं तनाव नदेखिएको दरबारका निकटवर्तीहरु बताउँछन्। संविधानसभाको पहिलो बैठकले गणतन्त्र कार्यान्वयन गर्ने कुरा अन्तरिम संविधानमा स्पष्ट लेखिएको र संविधानसभा निर्वाचनपछि पनि अहिलेकै सात दलको वर्चश्व हुने सुनिश्चित भइसक्दा पनि राजा ज्ञानेन्द्रमा कुनै तनाव तथा निराशा नदेखिनुको कारण छिमेकी मित्रराष्ट्र भारतको सद्भाव रहेको विश्लेषण दरबारका निकटवर्तीहरुको छ। भारतले आफ्नो गद्दी सुरक्षित राखिदिने र दलहरुले हदैसम्म गरे भने करको दायरामा ल्याई आम नागरिकसरह नियम कानुन मान्न बाध्य बनाउने, तर 'राजा' पद्वी खोस्न नसक्ने कुरामा ज्ञानेन्द्र ढुक्क देखिएका छन्। ज्ञानेन्द्रलाई राजाका रुपमा दर्शनभेट गर्ने दिन छोटिँदै गएका बेला उनका नातेदार एवं शुभचिन्तकहरुले शाही भोजको मौका पर्खेने गरेका छन्। प्रायःजसो बुधबार र शुक्रबार शाही भोज हुने गर्दछ। गत शुक्रबार पनि नगरकोटको क्लब हिमालयमा राजा ज्ञानेन्द्रका भाञ्जाभाञ्जीहरुले आयोजना गरेको शाही भोजमा थुप्रै नातेदार एवं शुभचिन्तकहरु पुगेका थिए। तर राजा ज्ञानेन्द्रकहाँ बाक्लै आवतजावत भएका शाही नातेदारहरु तथा शुभचिन्तकहरुले त्यस दिन भने राजा ज्ञानेन्द्रको आलोचना गरेका थिए। उनीहरुको भनाइ थियो– चुनावका दिनसम्म माओवादीद्वारा नै रणसंग्राम मच्चिन सक्छ, केही गरी चुनाव भइहाल्यो भने पनि मतगणना गर्ने कर्मचारी र अन्य दलका 'एजेन्ट' हरुलाई नै माओवादीले रामधुलाई गरेर एक्लौटी पार्ने कोसिस गर्नेछन्, मतगणना भएर चुनावी परिणाम घोषणा भइहाल्यो भने पनि माओवादीले संसद् नै बस्न दिने छैनन् उनीहरुको दाबी थियो। तर दरबारका अर्काथरी निकटवर्तीहरुले भने नारायणहिटी छाड्न परे पनि राजा ज्ञानेन्द्रलाई कुनै फरक नपर्ने विश्लेषण गरेका छन्। आफ्नो सम्पत्ति सुरक्षित हुने र चयनसँग निर्मल निवासमा बस्ने परिस्थिति निर्माण भए राजा ज्ञानेन्द्रलाई पुग्ने उनीहरु बताउँछन्। २००७ सालदेखि २०६३ सालसम्म सिंगो मुलुकलाई पारिवारिक पूँजीका रुपमा प्रयोग गरी अकूत सम्पत्ति आर्जन गर्न सफल राजसंस्थाले कुन कुन देशमा सम्पत्ति लुकाएको छ भन्ने कुराको भेउसमेत सात राजनीतिक दलहरुले पाउन सकेका छैनन्। तर राजा ज्ञानेन्द्रले स्वदेशभित्रको सम्पत्तिको केही हिस्सा पूर्व पार्श्ववर्ती प्रकाशविक्रम शाहकी श्रीमती सोमप्रभाका नाममा राखेको रहस्य सार्वजनिक भइसकेको छ। कुमार फुदुङ्ग, जोन्देन उक्याब, सूर्यबहादुर सेन वली, विवेक शाहजस्ता पूर्व हनुमानहरुले राजा ज्ञानेन्द्रको सम्पत्ति क–कसको नाममा राखिएको छ भन्ने गुह्य रहस्य माओवादीलाई खोलेको हुनसक्ने आशंका शाही नातेदारहरुको छ। ज्ञानेश्वरमा सामान्य पुर्ख्यौली सम्पत्ति भएकी सोमप्रभाका नाममा एकाएक कमलादीको गणेशस्थानमा ठूलो बंगाला ठडिएको छ। बूढानीलकण्ठको भीआईपीर् एरियामा २०/२५ रोपनी जग्गामा हाउजिङ्ग निर्माण भइरहेको छ, बाँसबारीको अति मूल्यवान जग्गामा २ वटा अलिसान महल जोडिएको छ। छोटै अवधिमा कहिले कालो रंगको निशान कार, कहिले चकलेटी रंगको पजेरो, कहिले कियाको पिकान्टो गाडीहरुमा सयर गर्ने हैसियत बनाइसकेकी सोमप्रभाकी छोरीको विवाहमा राजा ज्ञानेन्द्रले ४० लाख मूल्य पर्ने हुन्डाई कम्पनीको गाडी दाइजो दिएको दाबी सुराकीको छ। दरबारले श्रुतिलाई उपलब्ध गराएको दाइजोसमेत दाजु वीरेन्द्रको वंश विनाशपछि टुहुरा नातिनीहरुबाट फिर्ता लिने राजा ज्ञानेन्द्रले एडीसीकी श्रीमतीकी छोरीलाई यति महँगो दाइजो दिनुको रहस्य पनि कमैमात्र दरबारियाहरुलाई थाहा छ। नागर्जुन दरबारमा आयोजित एउटा रमाइलो शाही भोजमा सोमप्रभासँग हात समाएर राजा ज्ञानेन्द्र छमछम्ती नाचेको देख्ने शाही नातेदार तथा दरबारका शुभचिन्तकहरुले पूर्व पार्श्ववर्ती प्रकाशविक्रम शाह बिहानैदेखि मदिरा पिएर किन लठ्ठ हुने गर्छन् भन्ने रहस्य त्यतिबेलै थाहा पाएका थिए। कुनैबेला गायग ध्रुव केसीसँग गहिरो दोस्ती भएकी सोमप्रभालाई दोस्ती छुटाएर प्रकाशविक्रम शाहसँग मागी विवाह गराइएको पनि बताइन्छ। सुन्दरी सोमप्रभासँग विवाह हुनासाथ ज्ञानेन्द्रले प्रकाशविक्रमलाई आफ्नो एडीसी बनाइहाले। तर सोमप्रभासँगको विवाहले आफ्नो भाग्य चम्क्यो कि गुम्यो? त्यसको भेउ प्रकाशविक्रमले अहिलेसम्म पाउन सकेका छैनन्। हुन त सम्पत्ति कम नै भए पनि प्रकाशविक्रमका बाबु मोहनविक्रम राजा महेन्द्रका एडीसी थिए। आफ्ना नातेदार केन्द्रशमशेरका तीन छोरीको विवाह महेन्द्रका तीन छोरासँग गराउन मोहनविक्रमले नै लमीको भूमिका निर्वाह गरेका थिए।

Comments