चीनद्वारा वार्ता अस्वीकार

तिब्बतको संकट समाप्त गर्न दलाई लामासँग वार्ता गर्न अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसको आह्वानलाई चीनले अस्वीकार गरेको छ । बुधबार राष्ट्रपति बुसले दलाई लामाको पक्षसँग कुरा गर्न चिनियाँ समकक्षी हु जिन्ताओलाई आग्रह गरेका थिए । तिब्बतमा कुटनीतिज्ञ र पत्रकारहरूलाई भित्रिन अनुमति दिनसमेत बुसले हुलाई आग्रह गरेका छन् । बुसले चिनियाँ राष्ट्रपति हु जिन्ताओसँग टेलिफोनमा कुरा गर्दै यस्तो आग्रह गरेका हुन् । यस कुराकानीबारे जानकारी दिँदै बुसका राष्ट्रिय सुरक्षा सल्लाहकार स्टेफेन हेड्लीले भनेका छन्, 'विगतमा चिनियाँ अधिकारी र दलाई लामाका प्रतिनिधिबीच वार्ता हुने गथ्र्यो तर, अहिले स्थगित गरिएको छ ।' राष्ट्रपति बुसले त्यो प्रक्रिया पुनर्बहाली गर्न आग्रह गरेका छन् । हेड्लीका अनुसार टेलिफोन कुराकानीमा चिनियाँ राष्ट्रपति हुले तिब्बतलगायत अन्य केही क्षेत्रमा हिंसात्मक अपराधको योजना रच्ने र भड्काउने, आगामी अगस्टमा हुने बेइजिङ ओलम्पिकलाई बिथोल्ने गतिविधि दलाई लामाले रोक्नुपर्ने र तिब्बत र ताईवानलाई चीनको अभिन्न अंग मान्नुपर्ने बताएका थिए । ल्हासाको दंगा 'दलाई लामा गुटले दाबी गरेअनुसार कुनै पनि अर्थमा शान्तिपूर्ण प्रदर्शन वा अहिंसात्मक नभएर खुलमखुल्ला गम्भीर र हिंसात्मक अपराध भएको' राष्ट्रपति हुले बुसलाई बताएको सिन्हवा समाचार संस्थाले जनाएको छ । मानवअधिकारको टड्कारो उल्लंघन हुने, सामाजिक व्यवस्था खल्बल्याउने र जनधनको सुरक्षा जोखिममा पार्ने ज्यादतीपूर्ण अपराधलाई कुनै पनि जिम्मेवार सरकार टुलुटुलु हेरेर बस्न नसक्ने हुले बताएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ । चिनियाँ विदेश मन्त्रालयका अनुसार यथार्थमा स्वतन्त्र तिब्बतको वकालत गर्न छाडे र मातृभूमि टुक्र्याउन लक्षित गतिविधि बन्द गरे दलाई लामासँग सम्पर्क र परामर्श जारी राख्ने चिनियाँ सरकारको चाहनालाई पनि राष्ट्रपति हुले दोहोर्‍याए ।

Comments