दमक नगरपालिका क्षेत्रभित्रका केही महत्वपूर्ण स्थलहरु (भाग – २)

चिया बगान

दमक न‌.पा. वडा नं‌. १५ र ९ मा अवस्थित हिमालय गुडरिक नामको यो चिया वगान करीव ८०० विगाह क्षेत्रफलमा फैलिएको छ । पहिले यो बगान त्रिभुवनका माहिला छोरा हिमालयको सम्पत्तिको रुपमा रहेको थियो भने अहिले ज्ञानेन्द्रको रहेको छ । राजपरिवारको नाममा भएको सवै सम्पत्ति राष्ट्रियकरण गर्ने भनिए पनि यो बगान अहिलेसम्म राष्ट्रियकरण भएको सुनिएको छैन ।



जे जसको नाममा भए पनि यो चियावगानले दमक क्षेत्रको सौन्दर्य बढाइरहेको कुरामा द्विविधा छैन । साथै धेरै व्यक्तिहरुलाई रोजगारी दिएर यो क्षेत्रको आर्थिक अवस्था वृद्धि गर्न पनि धेरथोर टेवा पुर्‍याएकै छ ।

चियावगानको सौन्दर्य त आफ्नो ठाउँमा छँदैछ, साथसाथै यहाँ एक शिव मन्दिर पनि रहेको छ । यो मन्दिरमा श्रावण महिनाका सवै सोमवारहरुमा विषेश चहलपहल हुने गर्दछ । त्यस्तै तीज, वाला चतुरदशी, शिवरात्री इत्यादि जस्ता पर्वमा त झनै बढि मानिसहरुको आवतजावत हुने गर्दछ ।

त्यस्तै यो चियावगानको सीमानामा नै वौद्ध धर्मावलम्वीहरुको लागि पनि वुद्धस्तुप रहेको छ । वुद्धजयन्तीको दिन र गुरु पूर्णिमाको दिन यहाँ निकै नै बौद्ध तथा हिन्दु धर्मावलम्वीहरु पनि पूजाआजा गर्न भेला हुने गर्दछन् ।

चियावगानकै सम्पत्तिको रुपमा यहाँ ३ वटा ठूला ठूला माछा पोखरीहरु रहेका छन् । तर हाल यी पोखरीमा माछापालन गरिएको छैन । वगान व्यवस्थापनले यी पोखरीलाई त्यति ध्यान दिएको छैन । तर त्यसलाई त्यत्तिकै राख्नु भन्दा त्यसलाई पूर्ण सदुपयोग गरेमा वगानको आम्दानी पनि बढ्ने र अरु व्यक्तिहरुले पनि रोजगारी पाउने थिए । वगान आफैले नगरे अन्य इच्छुक व्यक्ति/संस्थालाई लिजमा दिए पनि हुन्थ्यो ।

हुन त यो बगान यो क्षेत्रमा भएर सवै फाइदै मात्र भएको चाहिँ पक्कै होइन । यसका केही वेफाइदाहरु पनि रहेका छन् । सवभन्दा मुख्य कुरा त के भने यो बगान २ कि‌‌.मि‌. उत्तर दक्षिण लम्वाइको भएकोले गर्दा बगानदेखि दक्षिणी क्षेत्रमा विकासका पूर्वाधार हतपत् नपुग्ने, पुगे पनि धेरै ढिलो पुग्ने गरेको छ । विजुली, टेलिफोन र खानेपानी जस्ता विकासका पूर्वाधारहरुको विस्तार गर्न सम्वन्धित निकायहरुलाई पनि निकै अप्ठ्यारो परेको छ । २ कि‌‌.मि. लम्वाइको कुनै वसोवास नभएको खाली क्षेत्रमा तार, पोल, पाइप ईत्यादि विस्तार गर्नु उनिहरुको लागि फाइदाजनक नभएकाले सिधा बाटोको सट्टा घुमाउरो बाटोबाट विस्तार गर्दा ढिलो भएको हुन सक्छ । त्यसको अलावा सवभन्दा महत्वपूर्ण कुरा हो बाटोको समस्या । २० वर्ष अघि ग्राभेल भएको बाटो अहिले हिंड्न नहुने भएको छ । पिच बन्ने आशामा बसेका त्यहाँका जनताको चाहना कति वर्षपछि पूरा हुने हो या त्यो पनि नहुने हो कुनै ठेगान छैन ।

Comments