काल

हिजो राति एउटा हिन्दी फिल्म हेरेको थिएँ, नाम थियो काल । एउटा नेशनल पार्कभित्र हुने गरेका चोरी शिकार गर्दा र पार्कको नियम कानुन मिच्दा हुने परिणामको बारेमा गरिएको एउटा काल्पनिक नै भए पनि अति नै शिक्षाप्रद चलचित्र रहेछ ।

वन्यजन्तु सम्वन्धि अनुसन्धाता जोन अव्राहमले थाहा पाउँछ कि अर्विट नेशनल पार्कमा बाघले अनपेक्षित रुपमा पर्यटक र अन्य व्यक्तिहरुमाथि बढि नै आक्रमण गरेर मार्ने काम गरि रहेको छ । तर उसलाई बाघले विना कारण त्यसरी आक्रमण गर्छ भन्ने लाग्दैन र उसकी फोटोग्राफर साथी इसा देवललाई लिएर अनुसन्धानको लागि त्यतैतिर लाग्छ । बाटोमा गाडी विग्रिएकोले पर्यटकका रुपमा आएका विवेक ओवराय र उसकी केटी साथी (लारा दत्त) समेत चार जना भएको गाडीमा लिफ्ट लिएर पार्क पुग्छन् ।

पार्कको नियम उल्लंघन नगर्नु भन्ने चेतावनीलाई वेवास्ता गर्दै पैदल हिंड्ने, शिकार खेल्ने जस्ता काम गरेपछि उनिहरुले पाउनु सम्म दु:ख पाउँछन् । यही क्रममा इसा लगायत उनिहरुको समूहमा भएका ३ जना र २ जना ट्याक्सी ड्राइभर गरी ५ जना मारिन्छन् । इसा मारिएपछि उनिहरुलाई थाहा हुन्छ यो काम अजय देवगणको हो र उ एउटा जिवित मानिस नभएर मृतात्मा हो । पार्कको नियम कानुन पालना नगर्ने व्यक्तिलाई सजाय दिने काम मृतात्माको रुपमा रहेको अजय देवगणले गर्ने गरेको रहेछ भन्ने थाहा पाएपछि उनिहरु त्यहाँबाट भाग्छन् र धेरै दु:खपूर्वक आ–आफ्नो ठाउँमा फर्किन्छन् ।

वास्तवमा यो एउटा निकै नै शिक्षाप्रद चलचित्र रहेछ । वन्यजन्तुको संरक्षणको लागि यसले भारतियहरुलाई मात्र नभएर नेपाली र सम्पूर्ण विश्वका जनतालाई एउटा राम्रो शिक्षा दिएको छ । नेपालमा सरकारी र गैरसरकारी भरमग्दुर प्रयासका वावजुद चोरी शिकारीका कारण वर्षेनी दर्जनौं गैंडा र अरु दुर्लभ वन्यजन्तु मारिन्छन् । काल चलचित्रमा जस्तो मृतात्मा चाहियो त नभनौं तर एउटा सशक्त कानुन र त्यसलाई कार्यान्वयन गराउँने भरपर्दो सुरक्षा संयन्त्र बनाउने हो भने यस्ता चोरी शिकारी जस्ता अवैध, अनैतिक, असामाजिक र गैरजिम्मेवारीपूर्ण पेशामा लागेका व्यक्तिहरु हतोत्साही हुने थिए कि ।

Comments