जेटिए र व्युटिसियनका प्रशिक्षार्थीलाई निःशुल्क औजार वितरण



मनोज लामिछाने
२१ माघ, विर्तामोड ।
प्राविधिक सीप सिकेर व्यवसाय सञ्चालन गर्ने तयारीमा रहेका प्रशिक्षार्थीहरुलाई बिर्तामोडस्थित झापा प्राविधिक शिक्षालयले बुधबार एक कार्यक्रमको आयोजना गरी व्यवसाय सञ्चालनका लागि आवश्यक पर्ने औजारहरु निःशुल्क वितरण गरेको छ ।
रोजगार कोषको सचिवालय हेल्भेटास नेपालको सहयोगमा झापा प्राविधिक शिक्षालयले सञ्चालन गरेको रोजगारी सिर्जनाका लागि उद्यमशिलता कार्यक्रमअन्तर्गत व्युटिसियन तह दुई र लाइभस्टक जेटीए तह दुई तालिमका प्रशिक्षार्थीहरुलाई व्यवसाय सञ्चालनका लागि आवश्यक पर्ने औजार वितरण गरिएको हो ।

प्राविधिक शिक्षालयले गत असार १६ देखि भदौ ३० सम्म सञ्चालन गरेको व्युटिसियन तह दुई तालिम पूरा गरेका २२ जना र लाइभस्टक जेटीए तह दुईका १७ जना गरी ३९ जनालाई व्यवसाय सञ्चालनका लागि आवश्यक पर्ने औजार वितरण गरिएको प्राविधिक शिक्षालयका फिल्ड अफिसर हरि बरालले जानकारी दिए ।




प्राविधिक शिक्षालयले बिर्तामोडमा सञ्चालन गरेको सीपमुलक तालिमपश्चात प्रशिक्षार्थीहरुलाई राष्ट्रिय सीप परीक्षण समितिबाट सीप परीक्षण गराई प्रतिव्यक्ति आठ हजार रुपैयाँ बराबरको सामग्री वितरण गरेको हो । कार्यक्रममा व्युटिसियनका प्रशिक्षार्थीलाई आइरन, ट्रलि, थ्रेडिङ चेयर, हेयर ड्रायर र लाइभस्टक जेटीएका प्रशिक्षार्थीलाई माइक्रोस्कोप, क्याष्ट्रेशन बडिजो, पिग क्याचर, पिग टिथ क्याचरलगायतका औजार निःशुल्करुपमा प्रदान गरिएको थियो ।
औजार वितरण कार्यक्रममा शिक्षालयका प्रतिनिधिहरु हरि बराल, देवराज बराललगायत प्रशिक्षकहरुको सहभागिता रहेको थियो । कार्यक्रममा प्राविधिक शिक्षालयका तालिम संयोजक भोजराज मैनालीले वितरण गरिएको औजारको सहायताले प्रशिक्षार्थीहरुलाई सिकेको सीपको सदुपयोग गर्न र व्यवसायलाई वढावा दिन थप मद्दत मिल्ने धारणा राखे । उनले सहभागी प्रशिक्षार्थीहरुलाई सीपको प्रयोग गरी आत्मनिर्भर बन्न र समुदायका अन्य बेरोजगार युवाहरुलाई समेत रोजगारी प्रदान गर्न आग्रह गरे ।





Comments