२६ माघ, उर्लाबारी।
नेपाली साहित्यमा गजलको प्रभावकारिता बढेपछि विद्यालयहरुले पनि गजल सिकाउने कार्यक्रम थालेका छन् ।
यसै क्रममा विद्यार्थीहरुलाई गजल सहित समग्र साहित्यप्रति जागरुक बनाउने उद्देश्यले मोरङको उर्लाबारीस्थित सप्तकोशी उच्चमाविमा गजलसम्बन्धी कार्यशाला सम्पन्न भएको छ ।
सोही विद्यालयकी सञ्चालक एवम् साहित्यकार मिश्र बैजयन्तीको संयोजन रहेको कार्यशालामा मोरङका सर्जक भूपेन्द्र तिम्सिना र इलामका विवश वलिभद्र कोइरालाले गजलको सिद्धान्त र लेखनका विषयमा जानकारी गराएका छन् । दुवै सर्जकले आफ्ना चर्चित गजलहरु प्रस्तुत गर्दै कार्यक्रमलाई आकर्षक बनाएका थिए।
कक्षा ११ र १२ का विद्यार्थीहरूको सहभागिता रहेको उक्त कार्यशालामा उनीहरू उत्साहित भएको सहजकर्ता भूपेन्द्र तिम्सिनाले बताए ।
कार्यक्रममा सो उच्च माविका विद्यार्थीहरुले पनि गजल वाचन गरेका छन् ।
सोही अवसरमा सृजना क्षेत्रको पहिचानले श्रष्टाहरु बाँचिरहने सन्देश छर्दै कञ्चनजंघा नाट्य समूह पथरीशनिश्चरेको समसामयिक हाँस्यव्यंग्य टेलिचलचित्र 'दोबाटे' को एउटा श्रृंखलासमेत प्रस्तुत गरिएको थियो ।
उच्चमाविले विद्यार्थीहरुलाई सृजनात्मक सिकाईतर्फ आकर्षित गर्न नाटक, गीत, नृत्य र खेलकुदका कार्यशालाहरु समेत सञ्चालन गर्दै लाने योजना बनाएको मिश्र बैजयन्तिले बताइन् ।

Comments
Post a Comment