छुट्टै सञ्चार नीति आवश्यक – भण्डारी





५ फागुन, सुरुङ्गा।
न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष खेम भण्डारीले सञ्चार क्षेत्रको विकासका लागि छुट्टै सञ्चार नीति आवश्यक रहेको बताएका छन् ।
न्यूनतम पारिश्रमिक निर्धारण समितिको आयोजना र नेपाल पत्रकार महासंघ झापको संयोजन आज झापाको बिर्तामोडमा आयोजित न्यूनतम पारिश्रमिक पुनः अवलोकन एवम् श्रमजीवी पत्रकार ऐन २०५१ एक समिक्षाको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। उनले सूचना विभाग र प्रेस काउनसिलमा पेस भएका केही पत्रकारका फारमहरु नक्कली भएकोसमेत दावी गरे ।



सञ्चार गृहका प्रमुखहरुले आफू खुशी पत्रकारहरुको पारिश्रमिक आफूहरुले यति दिने गरेको भरेर प्रेस काउन्सिलमा विवरण पेस गर्दा समस्या आएको बताए। श्रमजिवी पत्रकार ऐन लागू हुन नसकेको स्वीकार गर्दै पत्रकारहरुको अवस्था दयनीय रहेको उनले बताए। झापाली पत्रकारहरुलाई पत्रकारहरुको अवस्था जस्ताको त्यस्तै बताउन आग्रह गरेका भण्डारीले काठमाडौं र कर्णालीका पत्रकारहरुको अवस्था छिट्टै सार्वजनिक गर्ने बताए ।
उक्त कार्यक्रममा बोल्दै पत्रकारहरुले २० वर्षसम्म पनि पारिश्रमिक पाउन नसकेको अवस्थामा अझै पनि बहसमात्र गरेर नहुने बताएका थिए ।
सञ्चार गृहका सञ्चालकहरुको दवाबका कारण श्रमजीवी पत्रकार सधैं पीडित हुने भन्दै पारिश्रमिक दिन नसक्ने भए मिडिया बन्द गरिनु पर्ने विचार व्यक्त गरेका छन् ।
कार्यक्रममा सहभागी सञ्चरकर्मीमध्ये अधिकांश पत्रकारले सरकारी सञ्चार संस्थाले नै श्रम शोषण गर्ने गरेको, समाचार लेखेपनि नछापिने तथा छापिए पनि २०-२० प्रतिशत आयकर तिर्नुपर्ने भन्दै अन्य निजी सञ्चार गृहमा कार्यरत पत्रकारको अवस्था के होला भनेर प्रश्न गरेका थिए । कार्यक्रममा बोल्दै पत्रकार महासंघका संस्थापक महासचिव चन्द्र भण्डारीले एमएम रेडियोको फ्रिक्वेन्सी वितरणमा ध्यान दिनुपर्ने बताए। त्यस्तै पूर्वाञ्चल संयोजक गणेश पोखरेलले पारिश्रमिक दिन नसक्ने मिडिया बन्द गरिनु पर्ने विचार व्यक्त गरे।


पत्रकार महासंघ झापाका अध्यक्ष भीम नेम्वाङको अध्यक्षतामा भएको कार्यक्रममा पारिश्रमिक निर्धारण समितिका सदस्य रामप्रसाद दाहाल, अग्रज पत्रकार मदन ढकाल, मोहन काजी, गोविन्द चन्द्र क्षेत्री, कृष्ण हुमागाई, लोकराज ढकाल, माधव विद्रोही, चन्द्रकान्त ढकाल, टीकाराम उप्रेती, गोपाल काफ्ले, गोपाल झापाली, तीर्थ सिग्देल, प्रदीप परियारलगायतले पत्रकारको पारिश्रमिक मात्र नभई क्षमता विस्तारमा समेत ध्यान दिनुपर्ने सुझाव दिनुभएको थियो।
महासंघका उपाध्यक्ष तारामणि सापकोटाले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव एकराज गिरीले गरेका थिए।






Comments