चुलाचुलीमा दुई धार्मिक कृतिको विमोचन



५ फागुन, चुलाचुली।
इलामको चुलाचुलीमा मंगलबार दुईवटा धार्मिक पुस्तकको विमोचन गरिएको छ । चुलाचुली-२ स्थित किरात हाङसाम साम्योक माङहिमले आयोजना गरेको एक कार्यक्रममा स्थानीय ज्ञानोदय लाओतीद्वारा लिखित महागुरुका अमरवाणीहरु र किरात धर्म संस्कार र निर्देशिका सम्बन्धी पुस्तक विमोचन गरिएको हो ।
ती पुस्तकहरु नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति तथा प्राज्ञ तिलविक्रम नेम्बाङ (बैरागी काइला) र धर्मगुरु देवबहादुर तुम्बापोले संयुक्त रुपमा विमोचन गरेका हुन् ।




विमोचित पुस्तकमा किरात धर्मका महागुरु फाल्गुनन्दका दिव्य उपदेश तथा वाणीहरुलाई नेपालीमा अनुवादमा उल्लेख गरिएको जनाइएको छ । माङहिमका अध्यक्ष राजेन्द्र केरुङको अध्यक्षतामा भएको विमोचन कार्यक्रममा धर्मगुरु तुम्वापो, प्राज्ञ नेम्बाङ, किरात धर्म सत्यहाङमा सेवा संघका अध्यक्ष समेत रहेका लेखक लाओती, संघका उपाध्यक्ष वलिराज इङनाम, माङहिमका प्रवक्ता नारायणसिंह लाओती लगायतले किरात धर्म संस्कृतिका बारेमा बोलेका थिए ।
कार्यक्रममा सेवसावा शान्तिहाङमा राईले शान्तिपाठ गरेकी थिइन्। सो धार्मिक कार्यक्रमा झापा, मोरङ, इलाम, ताप्लेजुङ, पाँचथर, सुनसरी तथा भारतका विभिन्न क्षेत्रबाट सर्वसाधारण तीर्थालुहरुको उल्लेखीय सहभागीता रहेको थियो ।

त्यसैगरी माङहिममा सप्ताह पूराण, गाली श्राप बहन्ती तथा साँझमा विभिन्न सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो ।
त्यहाँ महाशिवरात्रीका अवसरमा सात दिने मेलासमेत सञ्चालन भएको थियो । आधा दशकदेखि लाग्दै आएको सो धार्मिक मेलामा स्थानीय सांस्कृतिक तथा जातिय कला संस्कृति तथा खेल तमासाहरु रहेका थिए।
मेला आजै समापन भएको माङहिमका सचिव गंगाबहादुर साउदेनले जानकारी दिए ।

फोटो क्याप्सन - कृति विमोचन गदै धर्मगुरु तुम्बापो र प्राज्ञ नेम्बाङ (फोटो - विष्णु सुब्बा)




Comments