विधान विपरित चुम्लुङ झापाको नेतृत्वमा अधिंकाश राजनीतिक नेताहरु



दमक।
लिम्बुहरुको जातीय संस्था किरात याक्थुङ चुम्लुङ झापाको सम्पन्न जिल्ला तथा विभिन्न नगर शाखाहरुको नेतृत्वमा राजनीतिक नेताहरुले नेतृत्व लिएका छन् । चुम्लुङको विधानले कुनै दलको नेतृत्व तहमा बसेकाले चुम्लुङमा पदाधिकारी तथा कार्यसमितिमा बस्न नपाउने भएपनि जिल्लाका अधिकांश शाखाहरुमा दलका जिम्मेवार नेताहरुले पद ओगटेका छन् ।
शनिबार विर्तामोडमा सम्पन्न नवौं जिल्ला अधिवेशनले समेत जिल्ला नेतृत्वमा दलका नेताहरुको हालीमुहाली देखिएको हो । अधिबेशनले भक्त खेवाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेपनि समितिमा अधिकांश कुनै न कुनै दलका जिम्मेवार नेताहरुले पद पाएका छन् । कांग्रेस, एमालेलाई पहिचान विरोधी भएको भन्दै आलोचना गरिएकाले समेत जिल्ला कार्यसमिति एकपक्षीय बन्न पुगेको थियो । कांग्रेस, एमालेका प्रतिनिधिहरुले निर्वाचन प्रकृयामा नै सामेल नभएपछि समिति एमाओवादी र संघीय समाजवादीको पोल्टामा गएको हो ।




सर्वसम्मत गठित समितिको उपाध्यक्षमा इक्सा सम्बाहाम्फे, सचिवमा प्रेमदिप थाम्सुहाङ र कोषाध्यक्षमा विश्वदिप लिङदेन चुनिएका छन् । तीमध्ये थाम्सुहाङ संघीय लिम्बुवान पार्टीको सचिवालय समितिका सदस्य तथा युवा नेता हुन् भने लिङदेन संबिधानसभाका पूर्व सदस्य तथा संघीय समाजवादी पार्टीको झापा जिल्ला इन्चार्ज हुन् ।
यसैगरी सदस्यहरुमा गजेन्द्र मादेन, इन्द्रदेव केरुङ, राजेश आङदेम्बे, पदम बहादुर मादेन, हर्क पन्दाक, विष्णुमाया चेम्जोङ, रणबहादुर फुरुम्बो, चन्द्रलाल थेवे, नरबहादुर योङहाङ र सपना आङवो चुनिएका छन् ।
कार्यसमितिमा अधिकाँश दमक क्षेत्रबाट प्रतिनिधित्व भएको छ भने विर्तामोड, शनिअर्जुन, मेचीनगर, कन्काई नगर शाखाहरुले नेतृत्व चयन प्रकृयामा पूराना कार्यसमितिका सदस्यलाई उपेक्षा गरेको भन्दै कुनै पदमा नरहने जनाएका थिए ।
यसअघि दमक नगरको सम्पन्न चुम्लुङ अधिवेशनबाट संघीय समाजवादीका झापा जिल्ला अध्यक्ष तथा चुम्लुङका निर्वतमान केन्द्रीय उपाध्यक्ष धिरेन लाओती सदस्य पदमा निर्वाचित भएका थिए भने मेचीनगर चुम्लुङमा संघीय समाजवादीकै जिल्ला सचिव दिलीपजङ्ग आङदेम्बे अध्यक्ष चुनिएका थिए ।
चुम्लुङ जातिय संस्थामा यसरी राजनीतिक नेतृत्वहरुले कब्जा जमाउन थालेपछि 'मिनी पार्टीका रुपमा यो संस्था बन्न पुगेको विश्लेषण गर्न थालिएको छ । जिल्लाको लिम्बुवानी आन्दोलनमा सधैं अनुहार देखिएका यो नेतृत्वको पकडले जातीय संस्था हो कि पार्टीको भातृ संस्था हो भनेर छुट्याउन गाह्रो बन्न पुगेको छ ।




अग्रजहरु सम्मानीत
यसैबीच चुम्लुङ झापाले जिल्लाका अग्रज लिम्बुहरुलाई सम्मान गरेको छ । जिल्ला अधिबेशनको उद्घाटन कार्यक्रममा चुम्लुङको विभिन्न गतिविधिहरुमा लामो समयदेखि काम गरेका नौजना अग्रजहरुलाई सम्मान गरिएको हो ।
यसरी सम्मानीत हुनेहरुमा चुम्लुङका पूर्व केन्द्रीय सदस्यहरु नरपति फुरुम्बो, मिना पन्धाक, नरबहादुर योङहाङ, शेरबहादुर इङनाम, बलिराज इङनाम, टेकबहादुर योङया, टंकीनाथ योङया, कृष्णकुमार थेवे र जगनध्वज वनेम रहेका छन् । उनीहरुलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मानीत गरिएको थियो । त्यस्तै, जिल्ला भरिका चुम्लुङ नगर शाखातर्फ दमक र गाउँ शाखातर्फ पृथ्वीनगरलाई समेत पुरस्कृत गरिएको थियो ।



Comments