हँसाउँदै नचाए डम्बरले





उर्लाबारी ।
नृत्य हेरेर मनोरञ्जन लिइरहेका दर्शकदीर्घा थप मनोरञ्जन लिने सोचमा थिए । त्यसलाई पूरा गरिदिए चर्चित गायक डम्बर नेपालीले ।
गत शुक्रवार साँझ उर्लाबारी रिमझिम महोत्सवमा जब गायक डम्बर स्टेजमा पुगे, उनको समर्थनमा दर्शकदीर्घामा हल्लाखल्ला सुरु भयो ।
उक्त कार्यक्रममा सहभागी दर्शकदीर्घलाई नेपालीले उत्साहित बनाउँदै पर्याप्त मनोरञ्जन प्रदान गरेका थिए । करिव साढे ८ बजेतिर स्टेजमा उक्लिएका गायक नेपालीले दर्शकहरुलाई सोधे कुन गीत सुन्नुहुन्छ ? तन्नेरी युवायुवतीहरुले चिच्याउँदै जवाफ फर्काए - 'बिग्रेको मान्छे म' ।

'हैन हौ सुरुमै बिग्रिएको मान्छे....' भनेर डम्बरले के मात्र भनेका थिए, दर्शकहरुबाट हाँसोको फोहोरा छुट्यो । डम्बरले दर्शकलाई कुन गीत सुन्ने भनेर दर्शककै रोजाईमा गीत सुनाएका थिए । त्यसवेला कार्यक्रमको माहौल पुरै तातिसकेको थियो ।



गायक नेपालीले 'तिम्रो पाउजु बजेर थाहा पाए अरुले', 'कि यो जंगे रेलमा कि यो जंगे जेलमा', 'ओके छ त', 'रक्सी नखाई निन्द्रै लाग्दैन', 'तर अन्तिम पल्ट भेट्न आउ' लगायतका १ दर्जन गीत पस्किँदा दर्शकहरुले कुम जोडेर गीतसँगसँगै नाचेर साथ दिए, स्वरमा स्वर थपे ।
आफुले साँगीतिक क्षेत्रमा संघर्ष गरेको उर्लाबारीमा आफु प्रस्तुत हुन पाउँदा खुशी लागेको डम्बरले प्रतिक्रिया दिए । 'आज धेरै खुशी लाग्यो', डम्बरले भने, 'उर्लाबारीमा साँगीतिक कार्यक्रममा राम्रो माहौल हुन्छ ।'
दर्शकहरुको हुटिङसँगै राम्रो साथ पाएका डम्बरलाई वान्स मोरको भन्दै अपिल आइरह्यो, तर उनी समयको पावन्दीलाई ख्याल गर्दै स्टेजबाट बिदा भए ।

- तेजन खड्का



Comments