'एनिमल एम्बुस'का कारण ज्यान जाने क्रम बढ्यो



२५ माघ, दमक।
राजमार्गमा छाडा छोडिएका चौपायाका कारण सवारी दुर्घटना भई ज्यान जाने क्रम बढेको छ । छाडा चौपायाकै कारण पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षीमा आज दुई जनाको ज्यान गएको छ ।
दुर्घटनामा परी झापाको शिवसताक्षी नगरपालिका-३ का २८ बर्षिय अच्यूत गेलाल र सोही नपा-७ का गंगादेवी पौडेलको ज्यान गएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । छाडा छोडिएका राँगालाई जोगाउन खोज्दा अनियन्त्रित भएको बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार ती दुई जनाको बिराटनगरस्थित न्यूरो अस्पतालनमा उपचारका क्रममा आज अपरान्ह मृत्यु भएको हो । को १ ख. २८९६ नम्बरको यात्रुवाहक बसले को १७ प ५८५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा भएको दुर्घटनामा बसमा सवार चालकसहित आधादर्जन बढी यात्रुहरुसमेत घाइते भएका छन् । घाइतेहरुको दमकको लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटना हुँदा बस सडकबाट बाहिर गएर रुखमा ठोक्किएको थियो ।


यस्तै झापाकै बिर्तामोडमा शनिवार साँझ भएको एक मोटरसाइकल दुर्घटनामा परी एक जनाको ज्यान गएको छ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत बिर्तामोड नगरपालिका ६ मा साँझ ७ बजे मे ५ प ३०५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक स्थानीय २८ बर्षिय उमेश तामाङ्गको मृत्यु भएको हो। अचानक मोटरसाइकल अनियन्त्रत भई पल्टिँदा गम्भीर घाइते भएका तामाङ्गलाई उपचारार्थ भारतको सिलगुडी लैजाने क्रममा बाटोमा नै उनको मृत्यु भएको र शवलाई पोष्टमर्टमका लागि मेची अंचल अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ।



यता मोरङको डाँगीहाट ५ स्थित पूर्वपश्चिम राजमार्गमा आज बिहान साढे ९ बजेतबिर बसको ठक्करबाट एक युवती घाइते भएकी छिन्।
पश्चिमबाट पुर्व आउँदै गरेको को १ ख १८२६ नम्बर बसको ठक्करबाट मोरङ जहदा १ की २४ बर्षिया उमा राई घाईते भएकी हुन्। उनी सोही बसबाट ओर्लिएर हिँड्ने क्रममा अचानक बसले ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएकी राईको न्यूरो अस्पताल बिराटनगरमा उपचार भइरहेको छ। ठक्कर दिने बस र चालकलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ।


Comments