उपभोक्ताहरूले रकम संकलन गरी जग्गा किनेर बनाएको बाटोको उद्धाटन



७ फागुन, विर्तामोड।
झापाको विर्तामोड नगरपालिका-६ का बासिन्दाले आफ्नै लगानीमा जग्गा खरिद गरी निर्माण गरेको सार्वजनिक बाटोको आज विहीबार उद्घाटन भएको छ ।
कनकाई स्वीमिङ रोड (पूर्व टोल)का उपभोक्ताले आफ्नै लगानीमा जग्गा खरिद गरी सार्वजनिक बाटो निर्माण गरेका हुन् । उक्त बाटोको आज विहीवार एक कार्यक्रमकाबीच सभासद्हरु एवं कार्यक्रमका प्रमुख अतिथि नरेश खरेल र अमृतलाल राजवंशीले संयुक्त रुपमा उद्घाटन गरे ।



शनिश्चरे रोडबाट बसपार्क जाने बीचमा पर्ने (सुगम पेट्रोल पम्प उत्तर) अवरुद्ध रहेको बाटो स्थानीय उपभोक्ताले ३५ लाख मूल्य बराबरको १० धुर जग्गा खरिद गरी निर्माण गरेको उपभोक्ता समितिका अध्यक्ष विपिन बजगाईले जानकारी दिए । स्थानीय ८० घर उपभोक्ताले २३ लाख ६२ हजार ५ सय रुपैयाँ संकलन गरेको र बाँकी रकम जग्गाधनी छिरिङ शेर्पाले छुट गरिदिएको उपभोक्ता समितिका सचिव गणेश पोखरेलले बताए । बजगाईका अनुसार २० फुटे बाटो निर्माण गरिएको हो ।
अध्यक्ष बजगाईको अध्यक्षतामा भएको कार्यक्रममा जग्गा खरिदमा योगदान गर्नेहरुलाई सम्मान समेत गरिएको छ । बाटो निर्माणका लागि सभासद् नरेश खरेलले सांसद विकास कोषबाट ५० हजार रुपैयाँ प्रदान गरेका छन् ।

कार्यक्रममा सभासदद्वय खरेल र राजवंशी, नेपाली कांग्रेसका बिर्तामोड सभापति भोजराज सिटौला, नेकपा एमालेका बिर्तामोड अध्यक्ष ज्ञानुराम प्रसाईं, निर्माण व्यवसायी संघ झापाका अध्यक्ष दीपेन्द्र पोखरेलले शुभकामना मन्तब्य राख्दै नागरिक जुट्ने हो भने जस्तासुकै काम गर्न सकिन्छ भन्ने उदाहरण विर्तामोड नगरपालिका-६ का बासिन्दाले प्रस्तुत गरेको बताए ।
कार्यक्रमको सञ्चालन सचिव पोखरेलले र स्वागत समितिका कमल पौडेलले गरेका थिए ।
शनिश्चरे रोडबाट बिर्तामोड बसपार्क जाने बाटो अवरुद्ध भइ सर्वसाधारणले सास्ती व्यहोरिरहेका बेला स्थानीय उपभोक्ताले आफ्नै पहलमा जग्गा खरिद गरी सार्वजनिक बाटो निर्माण गरेको कार्य प्रशंसनीय रहेको कार्यक्रमका अतिथिको भनाई थियो ।





Comments