दमकमा अर्ग्यानिक तरकारी बजार बन्ने




२ फागुन, दमक।
झापाको दमक- १३ मा रहेको एउटा बिद्यालयको नाममा दर्ता रहेको करिब सवा विगाहा जग्गामा बजार स्थापनाका लागि स्थानीयबासीले माग गरेका छन् ।
लामो समयदेखि सो स्थानमा रहेको विद्यालयको जग्गाको उचित संरक्षण नहुँदा क्रमश अतिक्रमणमा पर्दै गएका सो जग्गामा व्यवस्थित तरकारी बजार बनाउन स्थानीयवासीले नगरपालिकासँग माग गरेका हुन् । स्थानीय टोलबासीले जग्गाको संरक्षणसँगै स्थानीय क्षेत्रको विकाससमेत गर्नका लागि बजार स्थापनाको माग गर्दै नगरपालिकाको समेत ध्यानाकर्षण गराएका छन् । नगरपालिकाले स्थानीय टोलबासीबाट सो सम्बन्धमा आएको आग्रह उचित भएकाले उच्चतम सदुपयोग गर्दै बजार विकास गर्ने योजना बनाएको जनाएको छ ।




स्थानीय नमुना टोल विकास संस्थाको अगुवाइमा भएको टोल विकास संस्थाहरुको वडा भेलाको निर्णय अनुसार त्यस्तो माग गर्दै नगरपालिकाको ध्यानाकर्षण गराइएको नमुना टोलका सचिव भिष्म अधिकारीले जानकारी दिए। नगरपालिकाले स्थानीयबासीको सो आग्रहलाई मध्यनजर गर्दै अर्गानिक तरकारी बजार स्थापनाका लागि प्रकृयासमेत अघि बढाएको छ ।
नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले सो स्थानमा अर्ग्यानिक तरकारी बजार स्थापना गर्न जग्गा दर्ताको स्वामित्व भएको दमक-१४ स्थित सरस्वती उच्च माविसँग सम्झौता गर्ने तयारी भइरहेको बताए। नगरपालिकाका प्राविधिकहरुबाट जग्गाको नापजाँच गर्ने कार्य सकिसकेको र चाँडै बजारका लागि चाहिने भौतिक पूर्वाधारहरुको नक्साङ्कन लगायतका काम गरिने कार्यकारी अधिकृत दाहालले बताए ।



Comments