९ फेब्रुअरी, दुवई।
यहि फेब्रुअरी १३ तारिख शुक्रवार यहाँका हजारौं नेपालीहरुले सुप्रसिद्ध पप गायक दीपक बज्राचार्यको लाइभ प्रस्तुति हेर्न पाउने भएका छन् ।
उक्त दिन दुबईको देरास्थित एसियाना होटलको बोराके नाइट क्लबमा २ जना गिटरिस्ट, १ जना ड्रमरको साथमा दीपकले आफ्ना चर्चित गीतहरु गाएर नेपाली संगीतका पारखीहरुलाई झुमीझुमी नचाउनेछन । त्यसो त उनको क्यारियरमा सफल गीत "तिमीसँग झुमीझुमी नाच्न मन लाग्यो"ले धेरै नेपाली संगीत पारखीहरुलाई मोहनी लगाइसकेको छ ।
नेपाली गीत संगीतका क्षेत्रमा क्रियाशील गायक गायिकाहरुलाई यूएईका मञ्चहरुमा उतारिरहेको नमस्ते नेपाल इभेन्टको पाँचौं प्रस्तुति रहेको दीपकको यो सांगीतिक कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको इभेन्ट म्यानेजर शमसेर योन्जनले जानकारी दिएका छन् ।
अत्याधुनिक लाइट तथा उच्च गुणस्तरका साउन्ड सिस्टमका माझमा आयोजना हुने दीपक बज्राचार्यको यस पालिको प्रेजेन्टेसन क्रिम अफ रिदम भन्दा कम नहुने योन्जनले दाबी गरेका छन् । दीपक बज्राचार्यका साथमा रिदम ब्यान्डका ब्यान्ड मेम्बरहरुका विविध प्रस्तुतिहरुले १३ फेब्रुअरीको साझ संगीतमय हुने विश्वास आयोजकहरुले लिएका छन् ।
६०० सिट क्षमताको हलमा आधा टिकट बिक्री भइसकेका कारण सोही दिन पनि टिकट काटी हेर्न सकिने बताइएको छ । फिस्टेल ट्राभल एन्ड टुर्सको प्रायोजनमा आयोजना हुन लागि रहेको यस प्रस्तुतिमा दुबई हेल्पिङ हेन्ड्स, जोइन्ट हेन्ड, सेभ लाइफ र धरान-दुबई हेल्पिङ हेन्ड्सले सह-प्रायोजका रुपमा सहयोग गर्न बताइएको छ ।
विगतका कार्यक्रममा जस्तै सहभागिता जनाएर नेपाली गीतसंगीत तथा कलाकारलाई माया गरिदिन आयोजकहरुले युएई बासी नेपालीहरुमा आग्रह गरेका छन् ।

Comments
Post a Comment