मिस राईलाई गाउँको सम्मान




अनिल घिसिङ
५ फागुन, बेलबारी।
मुलुकभरबाट अडिसनमार्फत छानिएर बिभिन्न चरण पार गर्दै फाइनल स्पर्धामा आफ्ना १४ जना प्रतिस्पर्धीलाई उछिन्दै भर्खरैमात्र मिस राईको ताज आफ्नो शिरमा पहिरन सफल पुनम राई सम्मानित भएकी छन् ।
मिस राई ०१५ को उपाधि जितेपछि राजधानीबाट पहिलोपटक गाउँ आइपुगेकी पुनमलाई मोरङको बेलबारी–४, लालभित्तीका स्थानीयले लालभित्ती युवा समूहको अगुवाईमा आज एक कार्यक्रमको आयोजनागरी सम्मान गरेको हो ।
लालभित्तीस्थित कविर माविमा आयोजित कार्यक्रममा सो गाउँबाट पहिलोपटक विद्यावारिधी गर्ने डा. पेशल खनाललाई समेत सम्मान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि सभासद मधु गुरुङले सम्मानित हुने दुवैजनालाई दोसल्ला र सम्मानपत्रले सम्मानित गरे।



पूर्व सभासद हर्कमान तामाङ विशिष्ट अतिथि रहेको कार्यक्रममा वक्ताहरुले आफुलाई हुर्काएको र माया गर्ने थातथलोलाई सधैं सम्झिरहन आग्रह गर्दै आउने दिनहरुमा अझ उन्नति र सफलता चुम्दै आफ्नो गाउँ र राष्ट्रको नाम उँचो राख्ने कार्यमा अघि बढ्न शुभकामना दिएका थिए ।
मिस राईको प्रतियोगिताका बखत लालभित्ती युवा समूहले पुनमलाई जिताउन एसएमएस भोटिङ गर्ने अभियान नै चलाएको थियो ।




Comments