'दोबाटे' ले कलाकारको शोषण गरेको खुलासा




पथरी, माघ २९
कञ्चनजंघा नाट्य समूहको प्रस्तुति रहेको 'दोबाटे' टेलिचलचित्रका निर्देशक र व्यवस्थापकले कलाकार र प्राविधिकहरुलाई श्रम शोषण र अनावश्यक झन्झट दिनेगरेको रहस्य सार्वजनिक भएको छ ।
विहिबार प्रेस विज्ञप्ति सार्वजनिक गरी क्यामेरामेन गोपाल काफ्लेले निर्देशक हरेन्द्र खत्री र व्यवस्थापक मात्रिका पौडेलले आफ्नो पारिश्रमिक नदिएको दुखेसो पोखेका छन् । काफ्लेले विज्ञप्तिमा उल्लेख गरेका छन्, 'पैसा त दिएन दिएन अर्को सिरियल बनाउन तयारी गर्दा निर्देशक खत्रीले 'च्यालेन्ज' गरेका छन् ।' 'पूर्वको कुनै टेलिभिजनमा प्रशारण गर्न सकिस् भने मेरो मुखमा थुकिदिनु' सम्म खत्रीले भनेको विज्ञप्तिमा उल्लेख छ।




गत मंसिर पहिलो सातादेखि हरेक विहिबार हिमशिखर टेलिभिजनमा प्रशारण हुँदै आएको उक्त हास्यव्यंग्य सिरियलमा हालसम्म सबै कलाकारहरुलाई निःशुल्क अभिनय गराइरहेका छन् । तिहारमा कलाकारहरु सबैजना भई देउसी खेलेर जम्मा रकम समेत सिरियलमा नै खर्च भएको निर्देशक खत्री दर्शाउँछन् । पैसाको कुरा गर्दा 'अब बिस्तारै हुन्छ विज्ञापनको पैसा उठेपछि दिन्छौं' भन्दै निर्देशकले थमथमाउने गरेका छन् । कलाकार कमल दाहाल भन्छन्, 'सुटिङमा अरु काम माया मारेर जानुपर्छ । पैसाको कुरा गर्दा चाहिँ विज्ञापनको उठेपछि दिन्छौं भन्छन् ।'
यस्तै सियिरल सम्पादन गर्दै आएका पथरीस्थित मनकामना मिक्सिङ हाउसका दिनेश कटुवाल पनि यस्तै दुखेसो पोख्छन् । उनी भन्छन्, 'खै पैसाको कुरा गर्‍यो अब तुरुन्त दिन्छौं भन्छन्, निःशुल्क काम लगाइरहेका छन् ।'


फोन समपर्कमा निर्देशक खत्रीले भने उनले भने सबैले १२ भागसम्म निःशुल्क काम गर्ने सर्त गरिएको थियो । त्यसैले अहिलेसम्म पारिश्रमिक नदिएको हो ।
कञ्चनजंघा नाट्य समूह विगत १० वर्षदेखि नविकरण भएको छैन । यस विषयमा अध्यक्ष कमल भुजेलसँग सोध्दा उनले भने अब केही दिन भित्रै नविकरण गरिने बताए । पथरीशनिश्चरे आसपासका स्थानमा छायांकन भइरहेको सो सिरियलमा प्रहरीको पोशाक अवैध रुपमा प्रयोग भइरहेको छ । प्रहरीको पोशाक दुरुपयोग गरेको सम्वन्धमा इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक रुद्र चुडाल भन्छन्, 'मलाई प्रहरीको पोशाक माग्दै थिए । मैले मबाट हुँदैन माथि नै सम्पर्क गर्नुहोस् भनेको थिएँ । खै कहाँबाट ल्याए त्यो मलाई थाहा भएन ।'




Comments