२३ माघ, दमक।
झापाको दमकस्थित जनता नेशनल हस्पिटलले साप्ताहिक रुपमा निःशुल्क बहिरङ्ग सेवा सञ्चालन गर्ने भएको छ । साताको शनिबार हस्पिटलले बहिरङ्ग सेवाको स्वास्थ्य जाँचमा शत प्रतिशत छुट उपलब्ध गराउने भएको हो ।
हस्पिटलले पत्रकार सम्मेलन गरी भोलि शनिबारदेखि नै सो सेवा उपलब्ध गराउने भएको हस्पिटल सञ्चालक समितिका अध्यक्ष जीतन राईले जानकारी दिए।
हस्पिटल पहिलो वर्ष पूरा गरी दोश्रो बर्षमा प्रवेश गरेको उपलक्ष्यमा साप्ताहिक रुपमा एक दिन ओपीडि (बहिरङ्ग) को विशेषज्ञ सेवा पूर्ण रुपमा निःशुल्क दिन लागिएको अध्यक्ष राईले बताए।
हस्पिटलले विपन्न वर्गलाई लक्षित गरेर सो सेवा सञ्चालन गर्न लागेको जनाएको छ । दमक-११ मा रहेको सो हस्पिटलले छोटो अवधिमा नै एनेथेसिस सेवामार्फत विना चिरफार अप्रेशनको समेत सुविधा उपलब्ध गराउँदै आएको छ ।
यसैगरी, पूर्वका विरामीहरुका लागि आइसीयूको व्यवस्थापन गर्नसमेत तयारी शुरु गरिएको अध्यक्ष राईले बताए।

Comments
Post a Comment