दुईको मृत्यु, तीन घाइते




२८ माघ, दमक।
मोरङ र ताप्लेजुङका भिन्नाभिन्नै ठाउँमा भएका सडक दुर्घटनामा एक जनाको ज्यान गएको छ । ती घटनामा तीन जना घाइते भएका छन् ।
अमरदहमा आज दिउँसो ट्याक्टरले साइकललाई ठक्कर दिँदा एक महिलाको ज्यान गएको छ।
अमरदह ९ स्थित भित्री सडक खण्डमा दिउँसो सवा २ बजेतिर को १ त ८९८४ नम्बरको ट्याक्टरले साइकलयात्री रंगेली नगरपालिका ११ की ३२ बर्षिया तारादेबी राजबंशीलाई ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको उपचारको क्रममा न्युरो अस्पताल बिराटनगरमा पौने तीनबजे मृत्यु भएको हो।




ट्याक्टर चालक डाइनिया ५ का ३३ बर्षिय संजय पासवानलाई स्थानियबासीहरुले कुटपिट गरेका थिए। कुटपिटबाट सामान्य घाइते भएका पाश्वानको कोशी अंचल अस्पताल बिराटनगरमा उपचार भइरहेको छ। ट्याक्टर इलाका प्रहरी कार्यालय रंगेलीको नियन्त्रणमा रहेको छ।
उता मेची राजमार्गअन्तर्गत ताप्लेजुङको नाङ्खोल्याङ ६मा हिजो राति एक एम्बुलेन्स पल्टिँदा त्यसका चालकको घटनास्थलमै मृत्यु भएको छ।
बिरामी पुर्‍याई सदरमुकामतर्फ फर्किने क्रममा मे १ च ३२३४ नम्बरको एम्बुलेन्स अचानक सडकबाट करिब १०० मिटर तल खसी दुर्घटना भएको हो। रातको ९ बजेतिर भएको सो दुर्घटनामा एम्बुलेन्सका चालक नाङ्खोल्याङ ६ का २१ बर्षिय पदम राईको घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी मेवाखाले जनाएको छ ।

त्यस्तै पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको बयरवन ९ मा हिजो साँझ ५ बजे को १६ प ७९३६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा मोटरसाइकल मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन्। घाइते हुनेमा मोटरसाइकल चालक पथरी शनिश्चरे १ का २५ बर्षिय कुमार बस्नेत र पछाडी सवार २२ बर्षिय सुमन कटुवाल रहेका छन्। दुबैको न्यूरो अस्पताल बिराटनगरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ।
त्यसैगरी मोरङको बेलबारी ४ स्थित पूर्वपश्चिम राजमार्गमा हिजो राति साढे ९ बजेतिर नम्बर नखुलेको मोटरसाइकलले पैदलयात्री दमक ८ का ४२ बर्षिय छवि सार्कीलाई ठक्कर दिई फरार भएको छ। ठक्करबाट घाइते छविको स्थानिय उर्लाबारी अस्पतालमा उपचार भइरहेको छ। उनको एउटा खुट्टा भाँचिएको बताइएको छ।
ठक्कर दिई फरार मोटरसाइकलको खोजी भइरहेको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ।



Comments