२२ माघ, दमक।
झापाको दमकबाट सामुहिक प्रयासमा उद्दार गरी काठमाण्डौको आनन्द वनस्थित कुष्ठरोग सम्बन्धी मिसन अस्पतालमा पुर्याइएका सोलुखुम्बुको केरुङ- ७ का २५ बषिर्य मनोज घर्तिमगरको त्यहाँ उपचार शुरु भएको छ । उनको उपचार शुरु भएको बारे उद्धारमा नेतृत्वदायी भूमिका निर्वाह गरेका दमकस्थित संघ संस्थाहरुले पत्रकार सम्मेलन गरी जानकारी दिएका हुन् ।
अस्पताल भर्ना गरेर आएकी दमक ज्योति चर्चकी कोषाध्यक्ष तिला राईले कुष्ठरोगसंगै मनोजको खुट्टाको हड्डीमा समेत समस्या रहेको चिकित्सकहरुले बताएका जानकारी दिइन् । उनलाई आवासीय उपचार सेवाको आवश्यक भएकाले अस्पतालसँग विशेष आग्रह गरेर भर्ना गरिएको उनले बताइन् ।
उद्दारमा क्रियाशील झापाली युवा सरोकार समाजका अध्यक्ष कविराज चाम्लिङ र महिला सशक्तिकरण केन्द्र नेपालकी सचिव सुमित्रा वाङदेलले मनोजको उद्दारपछि अस्पतालसम्म पुर्याउन स्थानीय संघ संस्थाहरु र दाताहरुले गरेको सहयोगप्रति आभार व्यक्त गरे । त्यस अवसरमा जुटेको २९ हजार ४ सय २५ रुपैयाँमध्ये खर्च भई हाल ५ हजार ७० रुपैयाँ मौजुदा रहेको विवरण समेत सार्वजनिक गरिएको थियो ।

Comments
Post a Comment