देश निरङ्कुशतातर्फ जाने-गजुरेल





११ फागुन, विर्तामोड।
एकीकृत नेकपा माओवादीका केन्द्रीय कोषाध्यक्ष हरिबोल गजुरेलले सहमति बन्न नसके देश निरङ्कुशतातर्फ जाने बताएका छन् । गौरीशंकर खड्का स्मृति प्रतिष्ठानद्वारा सोमबार विर्तामोडमा आयोजित पुरस्कार वितरण कार्यक्रममा नेता गजुरेलले द्वन्द्व बढ्दा कसैको जीत नहुने बताए । उनले कांग्रेस-एमाले वा माओवादी-मधेसवादी कुनै एक पक्षले जिते त ठिकै हो । तर, दुवैले हारेको स्थितिमा निरङ्कुशता आउने खतरा रहेको औंल्याए ।
सभाषद्समेत रहेका गजुरेलले कांग्रेस-एमालेले माओवादीलाई कमजोर भएको ठान्दा समस्या आएको बताए । उनले भने, 'माओवादी लचिलो हुन तयार छ, तर झुक्न तयार छैन ।' उनले माओवादी पार्टी मात्र नभएर आन्दोलन भएको जिकिर गरे । उनले भने, 'माओवादी पार्टी कमजोर होला, कुनै नेता कमजोर होलान्, तर, एजेण्डा कमजोर हुँदैन।'




कार्यक्रममा नेपाली कांग्रेसका पुराना नेता डिल्लीप्रसाद सिटौलाले प्रक्रियाबाट संविधान बनाउनु घातक हुने बताए । उनले प्रक्रियाबाट संविधान बनेपनि त्यो धेरै दिन नटिक्ने बताए । '२००७ सालको परिर्वतनपछि कांग्रेस र वीपीको वरिपरी राजनीति घुमेजस्तै आज माओवादी र प्रचण्डको वरिपरी राजनीति केन्द्रित छ', उनले भने, 'राजनीतिक आन्दोलनबाट आएको माओवादीलाई अलग गरेर संविधान बन्न सक्दैन ।' सिटौलाले कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका गजुरेललाई नेतृत्वलाई मिलाउने कुशलता देखाउन आग्रह गरे ।
कार्यक्रममा तमलोपाका नेता त्रिनारायण राजवंशीले जनताका अधिकारसहितको संविधान आउनुपर्नेमा जोड दिए । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकाल, नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष भीम नेम्वाङ, एमालेका प्रतिनिधि खोदनाथ चापागाईंलगायत सहभागी बक्ताले स्वर्गीय गौरीशंकर खड्काको सालिन व्यक्तित्व सबैले अनुशरण गर्न सक्नुपर्ने बताएका थिए । उनीहरुले जनताले आन्दोलनमा गरेको त्याग र वलिदानलाई राजनीतिक नेतृत्वले सम्झन सकेमात्र सहिद र गौरीशंकरप्रति सच्च श्रद्धाञ्जली हुने बताए ।


Comments