बाहिर रहेका दलहरू आएर छिट्टै संविधान बन्छ - देउवा



५ फागुन, विर्तामोड।
नेपाली कांग्रेसका वरिष्ठ नेता शेरवहादुर देउवाले संविधानसभा बाहिर रहेका दलहरु केही समयभित्रै सहमतीमा आएर संविधान निर्माणमा सहजता पुर्‍याउने बताएका छन्।
झापाको बिर्तामोडस्थित पूर्ण टुङ्ग विर्ता सिटी हस्पिटलले सञ्चालनमा ल्याएको नवजात शिशुका लागि सघन उपचार कक्ष (एनआइसीयू) को आज उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।
एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डसँग पनि गतिरोध अन्त्यका लागि प्रधानमन्त्रीले लिखित पत्र पठाएकाले केही दिनभित्रै सहमति हुनेमा आफू विश्वस्त रहेको उनको भनाइ थियो ।





पूर्व प्रधानमन्त्री देउवाले आफ्ना गोरुको बाह्रै टक्का भनेर सडकमा कराउँदैमा आफ्ना माग पूरा नहुने भएकाले सहमतिमा आएर राजनीतिक गतिरोधको अन्त्य गर्न उनले सबैलाई आग्रह गरे ।
चुनावको 'म्याण्डेट'लाई सबैले सम्मान गर्नु पर्ने धारणा राख्दै उनले संविधान निर्माणका लागि कांग्रेस हदैसम्म लचिलो हुन तयार रहेको नेता देउवाले बताए।
यसैबीच नेपाली कांग्रेसका युवा नेता गगन थापाले अस्पतालले शुरु गरेको सेवा अत्यन्त सराहनीय रहेको बताएका छन्। 'पूर्वका जनतालाई प्रत्यक्ष फाइदा पुग्ने गरी अस्पतालले शुरु गरेको सेवा सवैका लागि अनुकरणीय छ' थापाले भने।
अस्पतालले मेची अञ्चलमै पहिलोपटक एक करोड रुपैयाँको लागतमा उक्त सेवा शुरु गरेको अस्पतालका अध्यक्ष गोपालकुमार बस्नेतले जानकारी दिए। अस्पतालले एनआईसीयू सेवामा फोटोथेरापी, रेडियन्ट वायर र भेन्टिलेटरमा गरी १३ वेड तथा पीआईसीयू कक्षको लागि ५ वेड सञ्चालनमा ल्याएको अस्पतालका डाक्टर अनिलकुमार बस्नेतले जानकारी दिए। अस्पतालमा डाक्टर रामभक्त सुवेदीसहित अन्य तीनजना डाक्टरले चौबीसै घण्टा सेवा प्रदान गर्ने बताइएको छ ।



Comments