स.क्याम्पस प्रमुखकले 'तिमीहरूविना पनि क्याम्पस चल्छ' भनेपछि......




गोविन्द पोख्रेल
१३ फागुन, दमक।
विद्यार्थीहरूले गरेको तालबन्दीका कारण बुधबार दमक बहुमुखी क्याम्पसमा पठनपाठन अवरूद्ध भएको छ।
आफूहरुको माग पूरा नभएको भन्दै एमबिएस पहिलो र दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुले विभिन्न ६ सूत्रीय माग राखी क्याम्पस प्रशासनमा तालबन्दी गरेका हुन् । क्याम्पस प्रशासनले विगतका दिनहरुमा गरेको सहमति कार्यान्वयन नगरेको र सहमति तोडेको उनीहरुको आरोप छ ।
एमबिएसका विद्यार्थीहरुलाई दिइने भनेको छुट नदिएको, पुस्तकालयमा पुस्तकका लागि पटकपटक आग्रह गर्दा पनि पुस्तक पर्याप्त मात्रामा उपलब्ध नगराएकोले ती काम अविलम्व गर्न उनीहरूले माग गरेका छन् । त्यस्तै सहायक क्याम्पस प्रमुख राधिका सुवेदीले गैर जिम्मेवार अभिव्यक्ति दिएकाले उनले सार्वजनिक रुपमा माफी माग्नु पर्नेसमेत विद्यार्थीहरूको माग छ।
यसअघि क्याम्पसमा क्रियाशील विद्यार्थी संगठनहरुले विभिन्न माग सहित मंगलबार क्याम्पस प्रमुखको कार्यालयमा तालाबन्दी गरेका थिए ।




'एमबिएसमा अध्ययनरत विद्यार्थीहरुको क्याम्पस प्रशासनमा तालाबन्दी गर्ने कुनै रहर थिएन', विद्यार्थी संघर्ष समितिका संयोजक खेमराज दाहालले भने, 'सहायक क्याम्पस प्रमुख राधिका सुवेदीले 'एमबिएसका विद्यार्थीहरु नभए पनि हुन्छ, क्याम्पस तिमीहरु नभए पनि चल्छ' भन्ने अभिव्यक्ति दिएपछि आफूहरु बाध्य भएर विभिन्न मागसहित प्रशासनमा तालाबन्दी गर्‍यौं।'
यस विषयमा सहायक क्याम्पस प्रमुख राधिका सुवेदीसँग जानकारी लिन खोज्दा सम्पर्क हुन सकेन । क्याम्पस प्रमुख सन्तकुमार भगतले भने क्याम्पस प्रशासनले विद्यार्थीहरुको मागलाई सम्बोधन गरिहरहको बताएका छन् । ताला खोल्ने सम्बन्धमा दिँउसो १ बजे बस्ने भनेको बैठक क्याम्पस सञ्चालक समितिका पदाधिकारीहरुको उपस्थिति नभएपछि बस्न नसकेको उनले जानकारी दिए ।
एमबिएसका विद्यार्थीहरुले गरेको तालाबन्दीका कारण अन्य संकायमा अध्ययनरत विद्यार्थीहरुको पठाइएमा प्रत्यक्ष असर पुगेको छ । विज्ञान संकायमा अध्ययनरत विद्यार्थीहरु प्राध्यापकहरुले नपढाएको भन्दै नाराबाजी गरेका थिए । विज्ञान संकायका प्रमुख रत्न थापाले क्याम्पस प्रशासन कार्यालयमा हाजिरी नगरी पढाउन नमिल्ने बताएपछि विद्यार्थीहरु झन् अक्राशित बनेका थिए । प्रशासन कार्यालयमा आफूहरुले पढाउने सामग्री थुनिएको, हाजिरी गर्न नपाएको र पढाउने वातावरण नबनेकाले पठनपाठन ठप्प भएको प्राध्यापक राजेन्द्र दाहालले बताए।



यस्तै, पठन पाठन ठप्प भएको विरोधमा कक्षा ११ र १२ का विद्यार्थीहरुले नाराबाजी गरेका थिए । 'एकदिन हाजिरी नगरी पढाउँदा के बिग्रन्छ ?' भन्दै उनीहरुले प्राध्यापकहरुसँग अपिल गरेपनि पठनपाठन सूचारु नगरेको भन्दै उनीहरु आक्रोशित देखिन्थे । कक्षा १२ मा अध्ययनरत समीर सुवेदीले दिनको ३० रुपैयाँ भाडा तिरेर पढ्न भनेर आएपनि पढाई नै नभएपछि आफूलाई नरमाइलो लागेको बताए। यस्तै, एक दिन प्राध्यापकहरुलाई हाजिरी नगरी पढाउन अनुरोध गरेपनि ठाडै अस्वीकार गरेको भन्दै उनले आक्रोश पोखे ।
स्नातक तहमा अध्ययनरत विद्यार्थी आनन्दा कार्कीले सहायक क्याम्पस प्रमुख रत्न थापासँग आक्रोश पोख्दै भनिन्, 'विद्यार्थीहरुले पढाउने वातावरण बिगारेका होइनन्, क्याम्पसले नै विद्यार्थीहरुलाई पढाउने वातावरण नबनाइदिएको हो ! ' उनले थपिन्, 'पढाई हुने कक्षा कोठा गोदाम जस्तो हुन्छ कहीँ ? फोहोर हुन्छ ? ' आफूहरुले क्याम्पस प्रशासनलाई पटकपटक कक्षा कोठा सफा गरिदिनुभन्दा समेत वेवास्ता गरेको कार्कीले बताइन् । आफूहरु फोहोर कोठामा बसेर पढ्न बाध्य भएको उनको भनाई थियो।
यस विषयमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष देवी दाहालसँग जानकारी लिँदा विद्यार्थीहरुको प्रायःजसो सबै मागहरु सम्बोधन गरेको बताउँदै आफूहरु विद्यार्थीहरुको मागप्रति सकारात्मक रहेको उनले बताए। केही दिन आफ्नो व्यक्तिगत कारणले गर्दा काठमाडौं जान लागेको र आफूले समितिका साथीहरुलाई जिम्मेवारी दिएको अध्यक्ष दाहालले बताए।
सबै संकायका विद्यार्थीहरू पढाई नभएपछि बुधबार १२ बजे लुरुलुरु घर फर्कन बाध्य भएका थिए।


Comments