नेपाल-भारत मैत्री संघ क्षेत्र नं. ४ मा शान्ता




७ फागुन, सुरुङ्गा।
नेपाल र भारत बीचको सम्बन्धलाई सुमधुर एवम् व्यापक बनाई दुवै देशको धर्म, संस्कृति, सभ्यता, भाषा, साहित्य तथा कलाको विकासमा व्यापक जनसहभागिता जुटाउने हेतुले नेपाल भारत मैत्री संघको झापा ४ नम्बर क्षेत्रीय समिति गठन भएको छ ।





सुरुङ्गास्थित चुडाल बन्धु समाजको सभाहलमा आयोजित वृहत भेलाका बीच भागिरथा चापागाईं (शान्ता पोखरेल) को अध्यक्षतामा ४ नं. क्षेत्रीय समिति गठन भएको हो । सुस्त मनः स्थिति सरोकार समाज नेपालकी अध्यक्ष, ज्येष्ठ नागरिक जिल्ला संघ झापाकी उपाध्यक्ष, ज्ञान ज्योति युवा क्लबकी सल्लाहकारलगायत विभिन्न संघसंस्थामा आबद्ध शान्ता यस क्षेत्रकी सक्रिय महिला नेतृको रुपमा परिचित छिन् ।
नवगठित समितिको उपाध्यक्षमा भवानीप्रसाद लुइँटेल सर्वसम्मत चयन भएका छन् भने सदस्यहरुमा दिपक तामाङ, युवराज संग्रौला, शिवशंकर महासेठ, रोजी पराजुली, धनपति चुडाल, धनन्जय फुयाँल र चन्द्रप्रसाद चुडाललगायत रहेका छन् ।

यस क्षेत्रका बुद्धिजीवि वर्गहरुको व्यापक उपस्थितिका बीच गठन भएको १५ सदस्यीय कार्यसमितिको बाँकी ६ पदाधिकारी संघको बैठकबाट मनोनित गरिने बताइएको छ ।
संघले नेपाल र भारत बीच आर्थिक र भौतिक विकासका क्षेत्रमा परस्पर सहयोग स्थापनार्थ विशेष भूमिका खेल्ने नवनिर्वाचित अध्यक्ष शान्ताले बताइन् । क्षेत्रीय समिति गठन गर्न आयोजित कार्यक्रम प्रल्हादप्रसाद घिमिरेको सहजिकरणमा सम्पन्न भएको नेपाल भारत मैत्री संघका सदस्य चन्द्रप्रसाद पोखरेलले जानकारी दिए ।



Comments