तिम्सिनालाई प्रतिभा सम्मान



१० फागुन, पथरी
पूर्वाञ्चलमा रहेर पत्रकारिता, साहित्य र कलाकारितामा सक्रिय भूपेन्द्र तिम्सिनालाई हाम्रो मझेरी प्रतिभा साहित्य सम्मान ०७१ प्रदान गरिएको छ ।
एक साहित्यिक समारोहबीच चितवनको भरतपुरस्थित हाम्रो मझेरी साहित्य प्रतिष्ठानले सृजना क्षेत्रमा देश र विदेशमा रहेर विशेष योगदान पुर्‍याउनेहरुमध्ये पूर्वाञ्चलबाट तिम्सिनालाई सो सम्मान प्रदान गरेको हो ।
भारतको सिक्किमका साथै मेचीदेखि महाकालीसम्मका श्रष्ठाहरुको जमघट रहेको सो कार्यक्रममा प्रमुख अतिथि गजलका विषयमा पहिलो विद्यावारिधी डा. घनश्याम न्यौपाने परिश्रमीले सो सम्मान प्रदान गरे।



तिम्सिना विगत २० वर्षदेखि पत्रकारिता, साहित्य र कलामा सक्रिय छन्। तिम्सिनाको 'निर्वासित चराहरु' र 'मन उनेर मनसँग' गजल संग्रह तथा 'जीवन जिउनेहरुका लागि' लघु चलचित्र कृति सार्वजनिक भइसकेको छ ।
कार्यक्रममा चितवनका कवि, गजलकार एवम् समालोचक प्राध्यापक डाक्टर नारायणप्रसाद खनाल, काठमाडौंका कवि उज्वल जीसी र पोखराकी सरस्वती श्रेष्ठ सरुलाई समेत सो सम्मान प्रदान गरिएको छ ।
सो समारोहमा काठमाडौंकी गजलकार राधिका कुइँकेल खनालको 'मौन आकाश' लाई गजलश्री पुरस्कार पनि प्रदान गरिएको छ ।
कार्यक्रममा, नेपाली गजलको संग्रहित संयुक्त कृति 'अक्षरहरुको पिरामीड', गजलकार भाष्कर काजीको 'उल्टो ताली', कमल अर्याल धादिङेको 'तिमी आउनु अघि', कल्पना पौडेल जिज्ञासुको 'जून हराएको रात' र प्रकाश किरणको 'अजनवी' गजल संग्रहसँगै हाम्रो मझेरी साहित्यिक पत्रिकाको ५२ औं अङ्क कविता विशेषाङ्कको विमोचन समेत भएको छ ।
कार्यक्रममा पूर्वका श्रष्ठाहरु घनश्याम पथिक, रोहित पराई, विराट अनुपम, विष्णुद्विप संकल्प, चन्द्र खड्का, सम्झना घिमिरे सहित ८ जना सहभागिले आफ्ना रचना वाचन गरेका छन् ।




Comments