लोकतन्त्रको रक्षा कांग्रेसले मात्र गर्ने - केन्द्रीय सदस्य बुढाथोकी



७ फागुन, दमक।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले जनताको बलिदानबाट प्राप्त प्रजातन्त्रको रक्षा संविधान बनेपछि मात्र संस्थागत हुन सक्ने बताएका छन् । उनले कांग्रेसको नेतृत्वमा भएका प्रत्येक आन्दोलनले जनताको अधिकारको रक्षा गरेको बताए।

सभासद् समेत रहेका बुढाथोकीले कांग्रेस संविधान निर्माण गर्ने अगुवाई गरेको बताउँदै एकिकृत माओवादीलाई समेत सहमतीमा ल्याएर संविधान जारी गर्ने बताए। ६५ औं प्रजातन्त्र दिवसको अवसरमा आज कांग्रेस क्षेत्रीय समितिले दमकमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता बुढाथोकीले संबिधानसभाबाट नै नयाँ संबिधान निर्माणका लागि हालको प्रकृया थालिएको बताए। उनले भने, 'अव मुलुकले लोकतान्त्रिक संबिधान पाउने छ ।'


कार्यक्रममा कांग्रेस जिल्ला सभापति उद्धव थापाले मुलुकमा लोकतान्त्रिक आन्दोलनको अगुवाई गरेको नेपाली कांग्रेसले संबिधानसमेत सहमतिमा ल्याउने बताए।
उनले प्रजातन्त्र स्थापनाका लागि योगदान गरेको सहिदहरुले सपनालाई साकार पार्नु अहिलेको आवश्यकता रहेको औंल्याए।
कार्यक्रममा क्षेत्रीय सभापति शेरबहादुर भट्टराईले प्रजातन्त्र स्थापनाका लागि कांग्रेसले गरेको योगदानको चर्चा गर्दै नेपालमा प्रजातन्त्रिक आन्दोलनमा कांग्रेसको भूमिकाका बिषयमा कार्यपत्र पेश गरेका थिए। कार्यक्रममा कांग्रेसका जिल्ला कोषाध्यक्ष देवीप्रसाद दाहाल, महासमिति सदस्य राजन ढुंगाना, जिल्ला सदस्य भुमिराज राई र नेपाल महिला संघ दमककी सभापति मन्दरा पौडेल लगायतले कांग्रेसको योगदानको चर्चा गरेका थिए। सोही अवसरमा कांग्रेसले ३० जना ७० बर्षमाथिका बृद्धहरुलाई समेत सम्मान गरेको थियो ।


Comments