२३ माघ, दमक।
विद्यालय भर्ना भएका सयमध्ये १२ जना विद्यार्थीहरुले विद्यालय तहको पढाई पूरा नगरी छाड्ने गरेका पाइएको छ । गत बर्षको तुलनाभन्दा पछिल्ला बर्ष यसरी विद्यालय विचमा छाड्ने क्रम घट्दै गएको
जिल्ला शिक्षा कार्यालयको एक तथ्याङ्कले देखाएको छ । शिक्षा कार्यालयका उपसचिव उद्धव बिष्ट दुई वर्ष अघिसम्म बीचैमा पढाई छाड्ने 'ड्रप आउट’को समस्या जिल्लामा घट्दै गएको बताउँछन्।। अघिल्ला बर्षहरुमा करिव १५ प्रतिशत 'ड्रप आउट' हुने गरेको भएपनि अहिले यो दर घटेर १२ प्रतिशतमा पुगेको विष्टले जानकारी दिए। 'अहिले तीन प्रतिशत घटेर १२ प्रतिशतमा झरेको छ’, उनले भने, 'बीचैमा पढाई छाड्नु रोक्नका लागि जनचेतना आवश्यक छ ।' यसरी विद्यालय छाड्न पछाडि मुख्य कारण गरिबी नै भएको उनको बुझाई छ ।
'आर्थिक रुपमा कमजोर परिवारका विद्यार्थीहरुले बीचैमा पढाइ छाडेको देखिन्छ’, उपसचिव बिष्ट भन्छन्, 'यो वास्तवमा निक्कै चिन्ताको विषय हो ।’ झापामा विद्यालय जाने उमेरका तीन प्रतिशत बालबालिकाहरु अझै पनि विद्यालयको पहुँचबाहिर रहेको कार्यालयको तथ्यांकमा उल्लेख छ । यो प्रतिशत दुई वर्ष अघिसम्म पाँच थियो । 'अहिले हामीले विद्यालयमा बालबालिका भर्ना गर्ने अभियानलाई तल्लो तहसम्म प्रभावकारी ढंगबाट सञ्चालन गरेका कारण दुई प्रतिशत घटेको छ, यसलाई शून्यमा झार्ने यस वर्षको लक्ष्य हो’, बिष्टले बताए।
यसरी विद्यालय छाड्नेमा अधिंकाश आदिवासी समुदायका बालबच्चाहरु रहेका जनाइएको छ ।
सरकारले बर्षेनी सामुदायिक विद्यालयहरुमा शैक्षिक लगानी बढाइरहे पनि शिक्षित र सभ्य नागरिकको बसोबास भएको जिल्ला भनेर चिनिएको झापाका यसरी विद्यालय छाड्ने समस्या चुनौतीपूर्ण भएको शैक्षिक अगुवाहरुको भनाई छ ।
बिहान बेलुकाको छाक टार्न बाबु आमा अर्काको खेतीपातीमा काम गर्न जाने गरेका र साना बालबच्चालाई हेरचाह गर्न केही ठुला बालबच्चा स्कुल जान नपाउँदा स्कुल छाड्ने क्रम देखिएको अभिभाभवक संघ झापाका कोषाध्यक्ष दिपेन्द्र दाहालले बताए।
Comments
Post a Comment