टेलिभिजन पत्रकारिता सम्बन्धी बिर्तामोडमा तीन दिने तालिम शुरु



९ फागुन, बिर्तामोड।
नेपाल पत्रकार महासंघ झापाको आयोजना र जिल्ला विकास समितिको सहयोगमा आज शनिवारबाट बिर्तामोडमा टेलिभिजन पत्रकारिता सम्बन्धी तीन दिने प्रशिक्षण शुरु भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै पत्रकारमहासंघका केन्द्रीय अध्यक्ष डा. महेन्द्र विष्टले पेशागत सीपमा दक्ष नहुने पत्रकारहरु अब पेशाबाट आफैं विस्थापित हुँदै जाने बताए । डा. विष्टले अब बन्ने संविधानमा महासंघले पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी खोजेको बताउँदै त्यसका लागि सशक्त दबाब सृजना गर्ने बताए । अध्यक्ष डा. विष्टले दलहरुलाई सडकबाट नभई संवादको टेवलबाट सहमतिमा संविधान निर्माणमा अग्रसर हुन सुझाव समेत दिए । उनले संक्रमणकाल बढेसँगै अराजकता बढेको र त्यसको सिकार सञ्चार क्षेत्रसमेत भएको उल्लेख गरे ।



महासंघ झापाका अध्यक्ष भीम नेम्वाङको अध्यक्षतामा भएको उद्घाटन समारोहमा महासंघका संस्थापक महासचिव चन्द्र भण्डारी, जिविस झापाका अधिकृत हिमराज सेढाईं, महासंघका पूर्व अध्यक्षहरु गोविन्दचन्द क्षेत्री, माधव विद्रोही, प्रेस चौतारीका पूर्व जिल्ला अध्यक्ष गोपाल गड्तौला, क्रान्तिकारी पत्रकार संघका अध्यक्ष टीकाराम उप्रेती, फोनिज झापाका अध्यक्ष गणेशमान मुखियाले शुभकामना मन्तव्य राखेका थिए ।
झापाका ३० जना टेलिभिजन पत्रकार सहभागी प्रशिक्षणमा महासंघका केन्द्रीय अध्यक्ष डा. महेन्द्र विष्ट र बरिष्ठ क्यामेरामेन दिलीप पोखरेलले प्रशिक्षण दिइरहेको महासंघ झापाका सचिव एकराज गिरीले जानकारी दिए ।
महासंघका उपाध्यक्ष तारामणि सापकोटाले औचित्यमाथि प्रकाश पारेको र सचिव एकराज गिरीले सञ्चालन गरेको प्रशिक्षण उद्घाटन समारोहमा स्वागत सहसचिव गोपाल झापालीले गरेका थिए ।





Comments