दमकमा फुड फेस्टिवल शुरू



२३ माघ, दमक।
झापाको दमकमा आजबाट दमक फुड फेष्टिभल शुरु भएको छ । सात दिनसम्म चल्ने फेष्टिभलको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले उद्घाटन गरे।
उनले आर्थिक सम्बृद्धिको आधार पर्यटन भएको कारण स्थानीय उत्पादन, पर्यटन प्रबर्द्धनका लागि लाग्नुपर्नेमा जोड दिए।
दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले दमकको बिकासमा मेलाले महत्वपूर्ण योगदान गर्ने बिश्वास ब्यक्त गरे। उनले दमकलाई पूर्वको उत्कृष्ट पर्यटकीय केन्द्रका रुपमा बिकास गर्नका लागि सबैको सहयोग अपरिहार्य रहेको बताए।
कार्यक्रममा दमक उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश प्रसाईं, मेलाका संयोजक सुधिर प्रधान, नेपाली कांग्रेस नगर सभापति ढुण्डीराज भण्डारीले पर्यटन प्रबर्द्धनका लागि मेलाले महत्वपू्र्ण योगदान गर्ने बताएका थिए।




७ दिनसम्म चल्ने मेलामा स्थानीयसँगै राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने आयोजक होटल व्यवसायी संघका क्षेत्रीय अध्यक्ष राजन दंगालले जानकारी दिए।
मेलाका कलाकारहरु सुरेन्द्र केसी मुलासाग, कमल खत्री, इन्दिरा जोशी, शिव परियार लगायतका कलाकारहरुको प्रस्तुती रहने उनले बताउनुभयो।
मेलामा लोक गायक सिताराम ताजपुरियालाई सम्मान गरिएको थियो । उनले झापाको परिचयलाई बिश्वसामु झल्काएको भन्दै सम्मान गरिएको हो ।
मेलामा हस्तकला, खाना परिकार, जातीय परिकारहरु, लत्ता कपडा लगायतका ६० वटा स्टलहरु रहेका छन् ।
७ दिनसम्म चल्ने मेलामा २ लाख बढीले अवलोकन गर्ने र ४० लाख बढीको कारोबार हुने अपेक्षा राखिएको संघले जनाएको छ ।

तस्वीर - मनकुमार गदाल/प्रकाश दहाल





Comments