संविधान नबनाउने हो भने भत्ता किन चाहियो - सभाषद खरेल



३ फागुन, खजुरगाछी।
नेपाल कम्युनिष्ट पार्टपी (एमाले)का प्रमुख सचेतक तथा सभासद अग्नि खरेलले झापा, मोरङ र सुनसरीलाई पहाडसँग छुट्याएर मधेशमा कहिल्यै पनि गाभिन नसकिने बताएका छन् ।
झापाको खजुरगाछीमा आइतवार कार्यकर्ता भेटघाट कार्यक्रममा प्रमुख सचेतक खरेलले यी तीन जिल्लालाई पहाडसँग जोड्न पर्ने बताउँदै राज्य पुनर्संरचना गर्दा पहिचानको नाममा जातीय राज्य हुन नसकिने वताएका हुन् । 'माओवादी र मधेशवादी दलको सहमति भए संविधान वन्ने नभए नबन्ने कुरा हुँदैन', प्रमुख सचेतक खरेलले भने, 'यो त जनताले म्यान्डेड दिएका दलहरुको अधिकारको कुरा हो।'
संविधान एक्लैले बनाएर नबनिने भन्दै सभासद खरेलले भने, 'सहमतिबाटै संविधान बन्छ तर माओवादीको सहमति भए मात्र बन्ने नभए नबन्ने कुरा हुँदैन।'



राज्य पुनर्संरचना गर्दा ४ वा ५ भन्दा बढी प्रदेश बनाउन नहुने उनको भनाई थियो । सहमति हुन्छ कि भनेर केही समयका लागि संविधान सभाको वैठक केही समय रोकेर स्थगित गरेको भन्दै फागुण १२ गतेसम्म कुनै परिणाम नआए संविधान सभाले आत्मसात गरिसकेको २३२ वटा प्रश्नमध्ये आवश्यक प्रश्नहरु निर्णयार्थ मस्यौदा समितिमा जाने उनले बताए । 'माओवादीले बहिष्कार गरे गरोस् हामीलाई त्यसमा केही भन्नु छैन', मस्यौदा समितिका सदस्यसमेत रहेका खरेलले भने, 'मस्यौदा समितिले मस्यौदा गर्छ र संविधान जारी हुन्छ ।'
'संविधान सभाको काम नगर्ने हो भने ३-३ महिनाको पेश्की किन लिने माओवादीले ?' प्रश्न तेर्स्याउँदै सभासद खरेलले यसको लेखाजोखा उनको स्वयं पार्टीका कार्यकर्ताले लिनु पर्ने बताए ।
पार्टी कार्यकर्ताको भेटघाट कार्यक्रममा क्षेत्र नं. ६ का क्षेत्रीय इन्चार्ज युवराज दाहालले समेत बोलेका थिए । कार्यक्रमको संचालन एमाले खजुरगाछी गाउँ कमिटीका सचिव कृष्ण महतोले गरेका थिए ।




Comments