सन्दर्भ 'भ्यालेन्टाइन डे', 'सच्चा प्रेम गरौं'



- रामकुमार परियार
युवापुस्ता माझ निकै लोकप्रिय पर्व हो - भ्यालेन्टाइन डे,अर्थात प्रणय दिवस । त्यस्तो युवा सायदै भेटिएला, जसलाई यसको महत्त्व र मिति थाहा नहोस । पछिल्लो समय नेपाली समाजमा घुस्दै गएको पाश्चात्य परम्परामध्ये निकै नाम चलेको पर्व हो भ्यालेन्टाइन डे । जुन हरेक अङ्ग्रेजी वर्षको फेब्रुअरी १४ तारिख संसारभरका युवायुवतीहरुले धुमधामका साथ मनाउने गर्दछ्न् ।
नेपालमा विशेषत: युवापुस्ता माझ चलेको पाइएता पनि पश्चिमी मुलुकहरूमा सबै उमेर समुहका मानिसहरु यो पर्वमा झुम्मिने गर्दछ्न् । विशेषगरी किशोरावस्थाका केटा-केटी, प्रेमी-प्रेमिका, दम्पती र प्रेम प्रस्ताव राख्न आतुरहरु गुलाफको फूल र उपहार साटासाट गरी यो पर्व मनाउने गर्दछ्न् ।



यसको ऐतिहासिकतालाई हेर्ने हो भने निक्कै दुःखदायी घटना कोट्याउनु पर्ने हुन्छ । प्रसङ्ग तत्कालीन रोम सम्राट क्लाउडियस द्वितीयसँग जोडिएको छ । प्रेम र विवाहमा स्वतन्त्रता हुँदा आफ्नो सैन्य संरचना कमजोर हुने धारणाले उनले प्रेम र विवाहलाई प्रतिबन्ध लगाएका थिए । प्रेम गर्नु त के विपरीत लिङ्गीसँग नजिकिन र बोल्नसमेत बन्देज थियो । तर एकजना धर्म गुरु सेन्ट भ्यालेन्टाइन भने त्यस्तो प्रावधानको विरुद्धमा थिए । त्यस्तो बन्देज धर्म विपरीत हो भन्ने उनको भनाई थियो । अनुशासनको दायराभित्र रहेर गरिने प्रेमबाट ईश्वरसमेत खुसी हुन्छ्न् भन्ने उनको मान्यता थियो । त्यसैले उनले सबैमा प्रेमको सन्देश छरे । प्रेम गर्न उत्प्रेरित गरे । निषेधाज्ञा तोडेर सामुहिक विवाह अभियान चलाए । धेरैको जोडी बाँधिदिए । यस घटनाबाट क्रुद्ध बनेका सम्राट क्लाउडियसले भ्यलेन्टाइनलाई जनता भड्काएको, शान्ति सुव्यवस्थामा खलल पुर्‍याएको, मुलुकको हित विपरीतको कार्य गरेको जस्ता आरोप लगाएर मृत्युदण्ड दिए ।


त्यो दिन थियो ई.पू. २७० को फेब्रुअरी १४ । पछि सोही घटना र भ्यालेन्टाइनले प्रेमको नाउँमा गरेको प्राण उत्सर्गको सम्मानमा भ्यालेन्टाइन डे मनाउने चलन शुरु भएको हो ।
भनिन्छ, प्रेममा संसार पल्टाउन सक्ने शक्ति हुन्छ। यसले जातपात, रुपरंग,धर्मवर्ण केही हेर्दैन भन्ने मान्यता रहि आएको छ । तर पछिल्लो समय युवापुस्ताबाट प्रेमको गलत परिभाषा र अपव्याख्या हुन थालेको छ । तत्कालीन समयमा भ्यालेन्टाइनले गरेको प्राण उत्सर्गको अवमूल्यन हुन थालेको छ । प्रविधिको द्रुत विकाससँगै यसले प्रेमलाई सस्तो बनाउँदैछ । मोबाइल, फेसबुक जस्ता प्रविधिबाट अनेकौं प्रेमी, प्रेमिका बनाउने चलन बढेको छ । युवाको नजरमा राम्री युवती त युवतीको नजरमा अलि मालदार युवक परिहाल्नाले प्रेम निक्कै सस्तिएको छ । हुन त सबैलाई एउटै टोकरीमा हाल्न मिल्दैन तर अधिकतमको जीवनमा यो प्रसङ्ग मेल खान्छ । जसको कारण भ्यालेन्टाइनको आत्मा भड्किएको छ । यो परम्परालाई तोडेर सच्चा प्रेम गर्ने वातावरण बनेको खण्डमा पक्कै पनि भ्यालेन्टाइनको आत्माले शान्ति पाउने थियो ।
त्यसैले प्रेम सप्ताह मनाई रहँदा सबैलाई आग्रह छ, सच्चा प्रेम गरौं । प्रेमलाई फेसन नबनाऔं । भ्यालेन्टाइन डे को सबैलाई शुभकामना !!!




Comments