२६ माघ, विर्तामोड ।
नेकपा एमाले झापाले आजदेखि शान्ति र संविधानका लागि १०० दिने जागरण अभियान शुरु गरेको छ । अभियानको ४ सूत्रिय औचित्य प्रष्ट्याउँदै जिल्ला अध्यक्ष चिन्तन पाठकले संविधान निर्माणमा एमालेले खेलेको भूमिका, संविधान निर्माणमा बाधक पक्षहरुको भण्डाफोर, पार्टी र जनताबीचको अन्तरसम्बन्धलाई प्रगाढ बनाउने तथा पार्टीको आन्तरिक जीवन र संगठनलाई सुदृढ बनाउने उद्देश्य रहेको बताए ।
नेकपा एमाले स्थायी कमिटीका सदस्य शंकर पोखरेलको प्रमुख आतिथ्यमा आज आयोजित अभिमुखीकरण कार्यक्रममा केन्द्रीय सदस्य हिक्मत कार्की र वैकल्पिक केन्द्रीय सदस्य रविन कोइरालाले प्रशिक्षण दिएका छन् ।
संविधानसभाबाट संविधानका अन्तरवस्तु र कार्यसूचिहरु विषयमा बोल्दै नेता पोखरेलले 'सामान्य बहुमतमा रहँदा पहिलो संविधानसभामा एमाओवादी मतदानमा आतुर थियो तर आज सहमतिको रटान गरिरहनु र दुई तिहाईका विरुद्ध सडक रोज्नु उसले विधि र प्रक्रिया मान्दैन भन्ने प्रष्ट रहेको' औंल्याए । उनले थपे, 'अन्तरिम संविधानको भावना केलाउँदा पनि संविधान निर्माणको विधि प्रक्रिया नै हो, दुई तिहाइले निर्णय गर्नुपर्छ र तत्काल कायम रहेका संविधानसभाका सदस्यको दुई तिहाइको हस्ताक्षर हुनुपर्छ ।'
एमाओवादीले अहिले उठाएको जातीय राज्यको चर्का नारा शान्ति प्रक्रियामा आए पछि मात्रै सुरु गरेको हो भन्दै स्थायी कमिटी सदस्य पोखरेलले जनयुद्धकालमा गठन गरेका तिनका जनसरकारको नाम स्मरण गर्न सुझाए । उनले थपे, 'एमाओवादीले आफ्नो राजनीतिक धरातल बिर्सिएको छ, जुन एजेण्डा लिएर पार्टी निर्माण गरेको थियो त्यसलाई चटक्कै बिर्सिएर मधेशी दलहरुको एजेण्डामा हिँडिरहेको छ ।'
नेपाली कांग्रेससँग कार्यगत एकताको प्रसङ्गमा उनले भने, 'जुन शक्तिसँग परिवर्तनका सन्दर्भमा मिलेर काम गरियो, तिनीहरुबीच कार्यगत एकता चाहिन्छ, अहिले नेपाली कांग्रेससँग भावनात्मक र कार्यगत एकता कायम छ ।' आज मुलुक हिँडिरहेको शान्तिमार्ग नेकपा एमालेले कोरेको मार्ग भएकोले यो मार्गमा सबै राजनीतिक दललाई हिँडाउन आफूहरु प्रयत्नशील रहने पोखरेलले जिकिर गरे ।
नेकपा एमाले झापा जिल्ला कमिटी, सोभन्दा माथिल्ला कमिटीका सदस्यहरु, जिल्लाका जनवर्गीय संगठनका अध्यक्षहरु, विभागीय समितिका प्रमुखहरु, क्षेत्रीय कमिटी, नगरकमिटीका पदाधिकारीहरु सहभागी रहेको अभिमुखीकरण कार्यक्रममा १०० दिने अभियान के कसरी सम्पन्न गर्ने भनी अध्यक्ष पाठकले कार्ययोजना प्रस्तुत गरेका छन् ।
अभिमुखीकरणका अर्का सहजकर्ता वैकल्पिक केन्द्रीय सदस्य कोइरालाले पार्टीको नवौं महाधिवेशन र संशोधित विधानका विषयमा प्रकाश पारेका छन् । कार्यक्रमको सञ्चालन पार्टी सचिव मदन अधिकारीले गरेका थिए ।

Comments
Post a Comment