बीएड सम्मको औपचारिक शिक्षा पुरा गरेकी मोरङ इटहरा -६ दाम्राभिट्टाकी रमिला लम्जेल पूर्वाञ्चल सिंगिङ स्टारको उत्कृष्ट ८ मा पर्न सफल भएकी छिन् ।
सामान्य खेती किसानी परिवारमा धनकुटामा जन्मिएर त्यहीको गोकुण्डेश्वर माविबाट उच्च माध्यमिक तह र धनकुटा बहुमुखी क्याम्पसबाट स्नातक तहको अध्ययन पुरा गरिसकेकी रमिला अहिले गायन क्षेत्रमा आफुलाई स्थापित गराउने ध्याउन्नमा छिन् । औपचारिक शिक्षालाई एउटा उचाईमा पुर्याएपछि आफ्नै खुट्टामा उभिने प्रयास गर्दै उनले अहिले सौन्दर्यकला सम्बन्धीको विशेष तालिम समेत लिइरहेकी छिन् । 'ब्युटीसियन ट्रेनिङ गर्दै पार्लरमा काम पनि गरिरहेकी छु', रमिलाले भनिन् ।
सामान्य परिवारमा जन्मिएकी रमिला गीत संगीतका क्षेत्रमा आफुलाई स्थापित गराउने लक्ष्य भएपनि त्यस सम्बन्धीको औपचारिक शिक्षा लिने मौकाबाट भने बञ्चित छिन् । उनी भन्छिन्, 'गाउँतिरै बस्छु संगीत सम्बन्धीको त्यस्तो क्लासहरु केही लिने मौका पाएकी छुइन् ।' संगीत सम्बन्धी कुनै औपचारिक अध्ययन नभएकी उनी पू्र्वाञ्चल सिंगिङ स्टारको टप ८ सम्म आउन सक्नुको पछाडी आफुलाई इश्वरले दिएको कला नै मुख्य कारण हो भन्ने ठान्छिन् । 'म त भन्छु कला भनेको भगवानले नै दिएको हुनुपर्छ, यतिकै म गाउँछु भनेर गाउन सकिँदैन', रमिला भन्छिन्, म कलाको पूजा गर्छु ।' कलाको पूजा भनेको सम्मान हो भन्ने लाग्छ उनलाई ।
सात बर्षअघि पनि गायन क्षेत्रको एउटा पूर्वाञ्चलस्तरीय प्रतिस्पर्धामा उत्रिएकी रमिलाले सर्वोत्कृष्टता त हासिल गर्न सकिनन् तर सफलताका लागि निरन्तरता हुनुपर्छ भन्ने चाहिं बुझिन् । त्यसैको परिणामस्वरुप यतिबेला उनी सिंगिङ स्टारको प्रतिस्पर्धामा छिन् ।
'मलाई विश्वास छ, मैले यसपटक पूर्ण सफलता पाउनेछु', रमिलाले भनिन् । आफूलाई संगीत क्षेत्रमा लागिरहने प्रेरणा साथीहरु र दिदी मेनुकाले दिइरहेको उनी बताउँछिन् ।
६ बर्षअघि नै बुबाको स्वर्गारोहण भएपछि आमा, दिदी र दाजुहरुको साथ परिवारमा बस्दै आएकी रमिला सबैको साथ सहयोग पाए भविष्यमा कुशल गायिका बनेर कला संगीतकै पूजा गर्ने बताउँछिन् । सेन्टिमेन्टल आधुनिक गीत र गजल गाउने गरेकी रमिलाले अहिलेसम्म चाहेर पनि आफ्नै स्वरमा कुनै एल्बमहरु निकाल्न नसकिरहेको बताइन् । रेजिना रिमाल, रिमा गुरुङ, तारादेवी जस्ता स्थापित गायिकाहरुले गाएका गीत गाउन रुची राख्ने रमिला कला संगीतलाई व्यवसायिकताका नाममा पैसासँग तुलना गर्ने गरिएकोप्रति असन्तुष्टी राख्छिन् ।
'कला संगीतमा लागेर पैसा नै कमाउनु पर्छ भन्ने भन्दा पनि त्यो एउटा वरदान हो र त्यसलाई सधैं सम्मान गर्नुपर्छ, पुजा गर्नुपर्छ भन्ने मेरो चाहिं मान्यता छ', रमिलाले भनिन्, कलालाई पैसासँग दाजेर हेरेको मलाई मन पर्दैन ।'
प्रस्तुती - विष्णु पौडेल

Comments
Post a Comment