नगर गौरव योजना कार्यान्वयन हुँदै




१० चैत, दमक।
दमक नगरपालिकाले सुरु गरेका विभिन्न नयाँ योजनाहरुको कार्यान्वयन प्रक्रिया सुरु गरेको छ ।
मुख्य गरी नगरको मुख्य आम्दानीको स्रोतका रुपमा रहेको पशुहाटको व्यवस्थापन र स्तरीकरण तथा आधुनिक सभागृह निर्माणको कार्य कार्यान्वयनको तहमा पुगेका हुन् ।
नगरपालिकाले विश्व बैंकको सहयोगका पशुहाट सुधार र व्यवस्थापन सुरु गर्न लागेको हो । विश्व बैंकले पशुहाटको सुधारका लागि करिव ४ करोड रुपैयाँ खर्च गर्ने नगरपालिकाले जनाएको छ । यसका लागि पहिलो चरणमा विश्व बैंकका प्रतिनिधि सम्मिलित टोलीले पशुहाटको अवलोकन तथा निरीक्षण गरिसकेको छ । हाल पशुहाट क्षेत्रमा निर्माण गरिने संरचनाको 'ड्रइङ' गर्ने कार्य भइरहेको नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले जानकारी दिए ।


विश्व बैंकमार्फत नै हुने बजार व्यवस्थापन अन्तर्गतको पशुहाटको स्तरीकरणका क्रममा बिभिन्न सुविधा सम्पन्न भवन, व्यवस्थित संरचना निर्माणका साथै बजारीकरणमा सघाउ पुग्ने अन्य पक्षहरुमा पनि ध्यान दिइने दाहालले जानकारी दिए । यसले नगरको मुख्य आम्दानीको स्रोत तथा दमकको पहिचानका रुपमा रहेको पशुहाटलाई अझ व्यवस्थित र समृद्ध बनाउने उनको धारणा छ ।
यसबाहेक नगरपालिकाले समेत थप १ करोड रूपैयाँको लागतमा पशुहाट सुधार आयोजना सुरु गर्दैछ । यस आयोजनाअन्तर्गत सेड निर्माण, पशुहरुका लागि पानी खुवाउने व्यवस्था, पोखरी निर्माण लगायतका संरचना समेत निर्माण हुनेछन् । योसँगै पशु खरिद विक्रीको टिकटका लागि अलग्गै भवन बनाइने नगरपालिकाले जनाएको छ ।
१ वर्षमा काम सक्ने गरी कृषि विकास मन्त्रालयको सहयोगमा नगरपालिकाले आयोजना सञ्चालन गर्नेछ । कार्यकारी अधिकृत दाहालका अनुसार आयोजनाका लागि कृषि विकास मन्त्रालयले १ करोड रुपैयाँ उपलव्ध गराउनेछ । आयोजनाको पहिलो चरणअन्तर्गत अतिक्रमित क्षेत्र खाली गराउने कार्य भइसकेको छ ।
नेपालकै मुख्य पशुहाट मध्येको दमक पशुहाट व्यवस्थापनको अभावमा अतिक्रमित हुँदै आएको थियो । नगरको आन्तरीक आम्दानीको स्रोतमध्ये पशुहाट मुख्य रहेको छ ।
यसैगरी नगरपालिकाले राष्ट्रिय बिभूति फाल्गुनन्दको स्मृतिमा निर्माण गर्ने फाल्गुनन्द सभागृहको निर्माण प्रकृया पनि शुरु भएको छ । दमक नगरपालिका र किरात चोलुङ् आङ्सी माङ्गेना सेवा समितिको संयूक्त पहलमा सभागृह निर्माण हुने भएको हो ।

दमक १५ स्थित शान्ति बाल उद्यानको करिब २ बिगाहा जग्गामा भवन बनाउने तयारी भएको नगरपालिकाले जनाएको छ । यसका लागि माङ्गेना सेवा समिति र नगरपालिकाबीच छलफल भइरहेको छ । किरात धर्मगुरु आत्मनन्द लिङदेनले अवलोकन गरे पछि भवनको निर्माण कार्य थालिने कार्यकारी अधिकृत दाहालले बताए । १५०० जनाको क्षमता भएको भवनले नगरमा हुने बिभिन्न सभा सम्मेलन, धार्मिक कार्यक्रम तथा बिभिन्न समारोह गर्न सहज हुने अपेक्षा गरिएको छ । भवन निर्माणका लागि करिव १५ करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।
नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ६ वटा मुख्य योजनालाई नगर गौरव योजनाका रुपमा सार्वजनिक गरेको थियो । विशेष महत्वका साथ सम्पन्न गर्ने गरी छनौट गरिएका गौरव योजनामा १ सय ८० फिट अग्लो बुद्धको मूर्ति सहितको पार्क, सुनटोलमा अण्डरग्राउण्ड पार्किङ र भ्यूटावर, बजारमा नमूना सडक, नगरपालिकाको शुन्य सहभागीतामा मुक्तिघाट निर्माण, राष्ट्रिय बिभूति महागुरु फाल्गुनन्द सभागृह र ग्रीनबेल्ट सहितको चक्रपथ निर्माण रहेका छन् ।
यसैगरी दमकका लागि नौला मानिने योजनाहरु पनि नगरपालिकाले सार्वजनिक गरेको छ । दमक वडा नं.१२ बाट १३ जोड्ने रतुवा पूल नजिक सुरुङ् मार्गबाट सडक पार गराउने योजना दमकका लागि नौलो मानिएको छ । यसका लागि स्थानीय विकास मन्त्रालयको जगेडा कोष र सडक बिभागको स्रोत समेत परिचालन गरिने नगरपालिकाले जनाएको छ । यस्तै दमकमा २ वटा आकाशे पुल बनाउने योजनासमेत नगरपालिकाको रहेको छ । तनी आकाशे पुल आर्थिक वर्ष २०७२/७३ मा सम्पन्न गरिने नगरपालिकाले जनाएको छ । ती योजनाहरुको कार्यान्वयनका लागि समेत आवश्यक तयारी भई रहेको नगरपालिकाले जनाएको छ । बिभिन्न पक्षसँगको सहकार्य र सहभागीतामा योजनाहरुको कार्यान्वयन पक्षबारे छलफल भई रहेको कार्यकारी अधिकृत दहालले बताए ।




Comments